नक्कली मनोज पुन बनेर सांसद, व्यवसायीसँग फिरौति माग्ने पक्राउ

नक्कली मनोज पुन बनेर सांसद, व्यवसायीसँग फिरौति माग्ने पक्राउ


नक्कली मनोज पुन बनेर व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति मागेका थिए ।

थापालाई माघ १० गते तीन दिनको अल्टिमेटम दिई धम्किपूर्ण म्यासेज आएपछि प्रहरीले सो नंम्बरको बारेमा सीआइवीसँग समन्बय गरी सीडिआर झिकाई अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा स्याङजा लोकेसन देखिएपछि प्रहरीले घटनामा संलग्न शिब कार्कीलाई पक्राउ गरेको थियो ।

अनुसन्धाको क्रममा कार्कीले भेटाएको सिम अमृत खड्कालाई दिएको भन्ने खुल्न आएपछि प्रहरीले खड्काको डेरा खानतलासि गरेको थियो। माघ १५ गते खड्का र रामु सुबेदी पोखराको शान्तिबन बाटिकामा गई थापालाई म्यासेज पठाएको प्रहरी अनुसन्धाले बताएको छ । भारतमा गई भारतीय नंम्बरबाट मनोज पुनको नामलिई फोन गर्ने ब्यक्ति मनोज पुन नभई रामु सुबेदी भएको अनुसन्धाले देखाएको छ ।

नेपालबाट मनोज पुन समूहको ब्यक्ति हुँ भनि धम्काई फिरौति माग्ने ब्यक्ति अमृत खड्का रहेको देखिएको छ । सुवेदी र खड्कालाई पक्राउ गरेपछि घटनाका योजनाकार शंकर भन्ने नर बहादुर गुरुङ रहेको खुलेको छ । गुरुङलाई प्रहरीले रामबजारबाट पक्राउ गरेको छ ।

शंकर गुरुङको योजनामा आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको अमृत खड्का र रामु सुवेदीले स्बिकारेका छन् । घटनाका योजनाकार शंकर गुरुङले धेरै ब्यक्तिहरुलाई पैसा दिन रहेको र आफ्नो ब्यबहार बिग्रेकोले यस्तो काम गरेको बयान दिएका छन् । उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्दामा जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ ।