छविलाल बगाले
नेपालमा २२ घण्टा लामो अनौपचारिक राजनीतिक दौडधुपको सिध्याएर भारतीय विदेशमन्त्री सुस्मा स्वराज शुक्रबार नै स्वदेश फर्किएकी छन् । उनले नेपाल र भारत बीचको तित्तता मेटाउनका लागि र नयाँ सरकारसँगको सम्बन्ध बलियो बनाउनका लागि नेपाल भ्रमण गरेको बुझिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर ‘मित्र भेटघाट गर्न’ भन्दै काठमाडौं आएकी स्वराजले बाम गठबन्धन र मधेस केन्द्रित दललाई बधाई, शुभकामना मात्रै दिइनन्, विशेषतः बाम गठबन्धनलाई प्रधानमन्त्री मोदी निकट सम्बन्ध बनाएर सहकार्य गर्न तयार रहेको सन्देश पनि ब्यक्त गरिन । नेपाल–भारतबीचको पछिल्लो तिक्त सम्बन्धलाई स्वराजको भ्रमणले ‘ब्रेक–थ्रु’ गर्ने अपेक्षा गरिएपनि भारत तत्कालै ‘यू–टर्न’ भइहाल्ने अवस्था भने देखिदैन ।
एमाले अध्यक्ष केपी ओलीले बिहीवार बालकोटमा आफू ‘प्रार्थी’ रहेको र रात्रीभोजसमेत आयोजना गरेको खुलासा गरेपछि मात्रै स्वराज कसको निम्तामा काठमाडौं ओर्लिइन भन्ने रहस्य खुल्यो । र, स्वराजले पनि राष्ट्रपति र प्रधानमन्त्रीभन्दा अगाडि ‘प्रार्थी’लाई नै भेटिन् । भारतीय प्रधानमन्त्री मोदीको दुई पटकको टेलिफोन वार्ता र प्रतिउत्तरमा ओलीको पत्र–व्यवहारले दुबै नेता सम्बन्ध सुधारको दबाबमा छन् भन्ने स्पष्ट भइसकेको थियो । र, त्यही दबाबको प्रतिफल थियो स्वराजको सातौं नेपाल यात्रा ।
नयाँ संविधानको स्वागत नगरेको भारतले त्यसैलाई निहुँ बनाएर पाँच महिना नेपालमाथि नाकाबन्दी लगायो । र, त्यसैको जगमा ‘राष्ट्रवाद’को नारा चुनावमा बिक्दा संभवत् केही दिनमै एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् ।
स्वराजले ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री मोदी विवादित नेपाल नीतिको ‘कोर्स करेक्सन’ गर्नसमेत तयार रहेको सन्देश सुनाएकी छन् । यसले हिजोको ‘दम्भ’ बिर्सिएर भारत आउँदो सरकारसँग विश्वासको सम्बन्ध बनाउन इच्छुक छ भन्ने लेखाउँछ ।
ओली र दाहालले पनि नेपालका लागि भारतसँगको सहकार्य आवश्यक रहेको सन्देश मोदीलाई पढाएका छन् । त्यसैले ओलीको ‘अहंकार’ र मोदीको ‘दम्भ’ले भू–राजनीतिक धरातल स्वीकारेको हो कि भन्न सकिन्छ ।
मधेस केन्द्रित दलसँग विशेष लगाव राख्ने भनिएको भारतले अहिलेसम्म नेपालको संविधानलाई स्वागत गरेको छैन । स्वराज स्वयम् भारतको संसदमै नेपालको संविधानले सबैलाई न्याय नगरेको वकालत गरिन् ।
तर, यस पटक मधेस केन्द्रित दलका नेताले संविधान संशोधनको प्रसंग उठाउँदासमेत उनी ‘आन्तरिक मामिला’ भन्दै टकटकिइन । बरु, संघीय समाजवादी फोरम र राजपालाई एकता गर्न र दुई नम्बर प्रदेशको सरकार सुदृढ बनाउन सुझाव दिइन् ।
त्यस्तो अवस्थामा भारतले त्यहाँको आर्थिक–सामाजिक विकासमा लगानी बढाउने उनको आश्वासन थियो । यसले भारत नेपालको संघीय र दुई नम्बरको प्रदेश सरकारसँग समानान्तर सम्बन्ध राख्न इच्छुक छ भन्ने देखाउँछ । केहीले आशंका गरेका छन– भारत केपी ओली नेतृत्वको सरकारमा मधेस केन्द्रित दल पनि सहभागि होउन् ताकी आफूले चाहेको बेला त्यस सरकारलाई अप्ठ्यारोमा पार्न सकियोस् भन्ने चाहन्छ ।
तर, स्वराजले यसबारे मुख खोले÷नखोलेकोबारे स्पष्ट भइसकेको छैन । स्वराजले उपेन्द्र यादवसँग भने त्यसबारे कुरा गरेको आशंका छ । यदावले संविधान संशोधन गर्ने ग्यारेन्टी भए सरकारमा जान सकिने बताउँदै आएका छन् ।
स्वराज ओलीको पाहुना हुनु, प्रधानमन्त्री शेरबहादुर देउवालाई शिष्टाचारका लागि मात्र भेट्नु र कांग्रेसका केही नेताले भ्रमण समयको टिप्पणी गर्नुले निर्वाचनमा नराम्ररी पछारिएको नेपाली कांग्रेस तत्कालका लागि भारतको उच्च प्राथमिकतामा नपर्ने संकेतलाई पनि स्वराजको भ्रमणले संकेत गरेको केहीको तर्क छ ।
समग्रमा, स्वराजको यो भ्रमणले नेपालमा लगाइएको नाकाबन्दी र सबै छिमेकीसँगको बिग्रदो व्यवहारबाट आन्तरिक आलोचना खेपिरहेको नरेन्द्र मोदी नेतृत्वको सरकार ‘कोर्स करेक्सन’ गर्ने तयारीमा छ कि भन्ने देखाउँछ ।
कोर्स करेक्सन भनेको विदेश नीति तय गर्ने अधिकार कर्मचारीबाट राजनीतिक नेतृत्वमा ल्याउनु मात्रै हो । नकी नाकाबन्दीजस्तो अमानवीय हर्कतका लागि क्षमायाचना गर्नु ।
स्वराजको यस भ्रमणले वाम गठबन्धनलाई फुटाउने खेल भएको भन्दै शंका उपशंका गरिरहेका छन् । तर केपी ओलीको पाहुना बनेर नेपाल आएकी स्वराजले कांग्रेसलाई खासै महत्व नदिनुले पनि फुटाउने र टुटाउने खेलमा लागेको आधार पाउन सकिदैन् ।
कतिपयले त भारत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै अध्यक्ष बनाउन तयार भएको र उनलाई मधेश केन्द्रित दल र कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री बन्न आग्रह गरेको भन्दै विभिन्न अड्कलबाजी गरेका छन् ।
स्वराजको यस भ्रमणले नेपालको राजनैतिक गतिबिधिमा के कति परिवर्तन आएको रहेछ भन्ने कुरा नयाँ सरकार गठन भएपछि मात्रै बाहिर आउनेछ । त्यसो त भारतले सदियौंदेखि नेपालका आन्तरिक मामिलामा यो वा त्यो बहानामा हस्तक्षेप गर्दै आइरहेको छ । नेपालमा प्रधानमन्त्री र मन्त्री बन्नको लागि भारतको आर्शिवाद लिनुपर्ने कुनै नौलो विषय भने होइन् ।
प्रतिक्रिया