काठमाडौंमा बैंकिङ एक्स्पो सुरु, वित्तिय चासो राख्नेका लागि उपयोगी बन्दै

काठमाडौंमा बैंकिङ एक्स्पो सुरु, वित्तिय चासो राख्नेका लागि उपयोगी बन्दै


बैंकिङ एक्स्पोको दोस्रो संस्करण काठमाडौंमा सुरु भएको छ । विशेषगरी ब्यवस्थापन संकायका विद्यार्थी, उद्यमी, स्वदेशमै रोजगार गर्न चाहने युवा र बैकिङ क्षेत्रमा जानकारी राख्नेलाई लक्षित गर्दै भृकुटीमण्डपमा एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पोको उद्घाटन गर्दै गभर्नर डा. चिरञ्जिवी नेपालले सीमित व्यक्तिले मात्र नभएर सबैले बैंकिङ सुविधा लिन पाउनुपर्नेमा जोड दिए । एकै ठाउँबाट वित्तीय कारोबारसम्बन्धी सम्पूर्ण जानकारी लिन एक्स्पो सफल हुने उनको विश्वास थियो ।

प्रदर्शनीमा बैंक तथा वित्तीय संस्थाका साथमा बीमा, रेमिट्यान्स, सेयर बजार लगायतसँग सम्बन्धित संस्थाहरुको सूचनामूलक स्टल छन् । एक्स्पोको पहिलो दिन हजारौं युवाको आकर्षण बैंकिङ सूचनामा केन्द्रित भएको आयोजकले जनाएको छ ।

आम नागरिकलाई आर्थिक क्षेत्रमा सक्रिय बनाउँदै स्वदेशमै उद्यमशिलको विकास र प्रवद्र्धन तथा वित्तीय जागरणमा सहयोग पु¥याउनु एक्स्पोको मुख्य उद्देश्य रहेको बताइएको छ ।

शनिवारसम्म चल्ने बैकिङ एक्स्पोमा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंकलगायतले सूचनामूलक स्टल राखेका छन । एक्स्पोमा बीमा समिति, युवा स्वरोजगार कोष, ब्रोकर एशोसिएसनसहित विभिन्न वित्तीय संघ–संस्था पनि सहभागि छन् ।

एक्स्पोमा बैंक, बीमा, सेयर बजार एवं उद्यमशीलताका विषयगत विज्ञ सम्मिलित छलफल चलाइएको छ । नेपाल राष्ट्र बैंकका सेवा र धितोपत्र बोर्डका गतिविधिबारे पनि एक्सपोबाट जानकारी लिन सकिने छ ।

नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवं बीमा समिति, धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र माइक्रोफाइनान्स बैंकर्स संघसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले एक्स्पो आयोजना गरेको हो ।