देशमा भौतिक पूर्वाधारको विकास आवश्यक छ : राई

देशमा भौतिक पूर्वाधारको विकास आवश्यक छ : राई


नेकपा (एमाले)का युवा नेता शेरधन राईले अब बन्ने नयाँ सरकारले देशमा स्थायी शान्ति र राजनीतिक स्थायित्व कायम गर्दै सामाजिक सुरक्षासहितको सम्मानको प्रत्याभूति गर्ने बताएका छन ।

रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा निर्माण गर्न लागिएको ला ज्यालो वाङथोप गुम्बाको शिलान्यास गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री राईले भने, ‘देशमा भौतिक पूर्वाधारको विकास गर्नुछ, प्रत्येक कुनाकुनालाई सडकबाट जोड्नु छ । प्रत्येकको घरमा बत्ती बाल्नु छ । घरघरमा पिउने पानीको धारा बिस्तार गर्नुछ । प्रत्येक गाउँमा शैक्षिक संस्था, अस्पताल खोल्नु छ । रोजगारीका अवसर सिर्जना गर्नु छ । अवसर खोज्दै बसाइँ सर्नुपर्ने बाध्यता अन्त्य गर्नुछ ।’

कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राईलगायतले सम्बोधन गरेका थिए । राससका अनुसार करिब २१ करोडको लागतमा निर्माण पूरा हुने गुम्बाका लागि स्थानीयवासी मेनुका तामाङले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । गुम्बा निर्माणपछि नुनथला धार्मिक पर्यटनको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।