प्रदेश नं ४ को यही माघ २२ गते हुने पहिलो प्रदेशसभा बैठकलाई लक्षित गर्दै आज आयोजित सर्वदलीय बैठकले पहिलो प्रदेशसभाको सञ्चालन र त्यसका विषय सम्बन्धमा छलफल गरेको छ । संसद् सचिवालयका प्रतिनिधिसमेतको उपस्थितिमा सम्पन्न बैठकले प्रदेशसभा सञ्चालनको प्रक्रिया, अन्तरिम कार्यविधिलगायतमा छलफल गरेको हो ।
दलहरूबीच पहिलो बैठकमा संसदीय परम्पराअनुरुप प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढ्ने, आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्नेलगायत विषयमा सहमति भएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।
बुढाथोकीका अनुसार आजको बैठक उक्त दिन प्रत्येक ठूला दलबाट तीनतीन जना (कम्तीमा एकजना महिला सहित) र साना दलबाट एकएक जना गरी ११ जनाले मन्तव्य दिने दलहरूबीच सहमति भएको छ । पहिलो बैठक एक घण्टा १५ मिनेटसम्म चल्ने अनुमान गरिएको छ ।
सर्वदलीय बैठकमा प्रदेशसभा सञ्चालन सम्बन्धमा कार्यविधिबारे पनि छलफल भएको जानकारी दिँदै बुढाथोकीले अन्य केही कुरा थपघट गर्नुपर्ने भएमा आज बसेका कार्यदलको बैठक प्रदेशसभा बस्नुअगावै बस्ने सहमति भएको बताउनुभयो ।
तस्बिर रासस
प्रतिक्रिया