कट्टेल, सुवेदी र राजवंशी पुरस्कृत

कट्टेल, सुवेदी र राजवंशी पुरस्कृत


झापा । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको १५ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्य शनिबार सम्पन्न भएको छ । संस्थाको विर्तामोडस्थित सभाहलमा आयोजित एक कार्यक्रमका बीच साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय तीनजनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

संस्थाले यस वर्ष विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सम्मानबाट विराटनगर निवासी सोमराज अभय (कट्टेल) लाई सम्मान गरेको छ भने २०७३ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये वर्षोत्कृष्ट कृतिमध्येबाट इति उपन्यासकी लेखिका उमा सुवेदी र धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट शुष्मा राजवंशीलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कृत राजवंशी सनराइज एफएमकी समाचार प्रमुख हुन् ।

पुरस्कृत स्रष्टा तथा पत्रकारलाई प्रमुख अतिथि प्राध्यापक माधव भण्डारी, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाई, अतिथीहरु चुडामणि रेग्मी, कोमलप्रसाद पोखरेल, कोषका संरक्षक खगेन्द्र प्रसाई लगायतले दोसल्ला, सम्मानपत्र र नगद राशीसहित पुरस्कृत गरिएको हो ।

दीर्घ साहित्य र कृति पुुरस्कारको राशी नगद २१ हजार रहेको छ भने पत्रकारिता पुरस्कारको राशी १५ हजार रहेको छ । पुरस्कृत अभयको व्यक्तित्वमाथि केशव आचार्यले प्रकाश पार्नुभएको थियो भने कृतिकि लेखिका सुवेदीको व्यक्तित्वमाथि इन्दु पूर्वेली र राजवंशीको व्यक्तित्वमाथि प्रकाश अम्बिका भण्डारीले पार्नुभएको थियो ।

पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरुको घोषणा छनौट समितिका संयोजक विष्णुकुमार भट्टराईले गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष गोपीकृष्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भण्डारी, संरक्षक खगेन्द्र प्रसाई, कोमलप्रसाद पोखरेल, चुडामणि रेग्मी, केदार शर्मा, पुरस्कृत प्रतिभाहरु अभय, सुवेदी, राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

छविलाल खतिवडाको महासचिवमा स्वागत गरेको कार्यक्रमको सञ्चालन केशव भट्टराईले गर्नुभएको थियो ।

साहित्य क्षेत्रको उन्नयनका लागि २०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले वर्षेनी पत्रकारिता साहित्यका अनेक विधामा पुरस्कार वितरण गर्दै आएको छ भने वर्षेनी छन्द कविता गोष्ठी गर्दै आएको बताइएको छ ।