आज चार वटा प्रदेशको पहिलो प्रदेश सभा बैठक बस्दैछ । प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक आज बस्न लागेको हो ।
प्रदेश नम्बर पाँचको बुटवल, दुईको जनकपुर, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्नेछ । बैठकका लागि अधिकांश प्रदेश सांसदहरु शनिबार नै अस्थायी मुकाममा पुगेका छन् ।
चारवटै प्रदेशमा बस्ने प्रदेशसभा बैठकका मुख्यतः तीन वटा एजेण्डा रहेका छन । प्रदेश प्रमुखको पत्र वाचन, अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधी पारित र सभामुखको चुनावको मिति तय गर्नु बैठकको मुख्य एजेण्डा हो ।
सबै प्रदेशले समृद्धिलाई मुख्य एजेण्डा बनाएका छन् । प्रदेश सदस्यको मन्तव्य पछि प्रदेशसभा बैठक सञ्चालन सम्बन्धी कार्यविधी २०७४ सभामा पेश हुनेछ । प्रदेशसभा बैठकपछि प्रदेशका सभामुख र उपसभामुख लगायतको विषयमा छलफल हुनेछ ।
संघीयताको पहिलो अभ्यास प्रदेश सभा र त्यसको पहिलो सभालाई स्थानीयवासीले समेत निकै चासोका साथ हेरिरहेका छन् ।
वैठक बस्नका लागि भवन रंगाउने, सजिसजाउ गर्ने, आवश्यक फर्निचर मिलाउने, सरसफाइ गर्ने, कार्पेट बिछ्याउनेलगायतका काम मध्य रातसम्म भएको थियो ।
ऐतिहासिक रुपमा पहिलोपटक बस्न लागेको प्रदेशसभा वैठक संचालनमा सहजिकरणका लागि संघीय संसद सचिवालयबाट कर्मचारी पनि खटाइएको छ ।
प्रतिक्रिया