राजधानी माग गर्दै वीरगञ्ज बन्द

राजधानी माग गर्दै वीरगञ्ज बन्द


– प्रणय साह

प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज हुनुपर्ने माग राख्दै आइतबार वीरगञ्ज बन्दको आह्वान गरिएको छ । सरकारले २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरमा बनाएको विरोधमा वीरगञ्जमा शुरु भएको आन्दोलन अझै जारी छ ।

३२ दिनदेखि राजधानीको माग गर्दै वीरगञ्जको घण्टाघरमा रिले अनशन जारी छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले चारवटा सवारी साधनमा तोडफोड गरेका छन् । सरकारले प्रदेश २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेको छ ।

जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठक बस्ने दिन नै वीरगञ्ज प्रादेशिक राजधानी हुनुपर्ने माग राखेर आन्दोलरत संघर्ष समितिले वीरगञ्ज बन्द गरेको हो । संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताको नेतृत्वमा रहेका बन्दकर्ताले वीरगञ्जको घण्टाघर, माइस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बाईपास रोड, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।

लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकारखाना ठप्प छन् भने बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरूले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी ना. ३ च ३२९३ नम्बरको सुजुकी कार र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार आइतबारको बन्द सफल बनाउन शनिबार साँझ मशाल जुलुश प्रदर्शन गरिएको थियो । बिहानैदेखि सडक अवरुद्ध पारेका छन् ।

ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ । बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ । मोटरसाइकल, रिक्सा पनि सञ्चालनमा छन् यसअघि संघर्ष समितिले सरकारले जनकपुरलाई अस्थायी राजधानी घोषणा गरेको भोलिपल्ट अर्थात माघ ४ गते पनि बन्द आह्वान गरेको थियो ।

अस्थायी राजधानी जनकपुरलाई तोक्ने संकेत पाएदेखि नै वीरगञ्ज राजधानीका लागि आन्दोलित छ तर वार्ता र संवादका लागि पहल भएको छैन । सोमबार विहान संघर्ष समितिको बैठक बसेर थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।