टेलिकमलाई फुटसल उपाधि

टेलिकमलाई फुटसल उपाधि


नेपाल टेलिकमले ११औँ अन्तरकर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता– क्यान कपअन्तर्गत पुरुष फुटसल उपाधि जितेको छ ।

बानेश्वर फुटसल रिक्रिएसन सेन्टरमा भएको फाइनलमा टेलिकमले एभरेष्ट बैंकलाई २–१ गोलले पराजित गरेको हो । टेलिकमका रोशन आचार्यले २ गोल गरे । एभरेष्टका राजेश श्रेष्ठले १ गोल फर्काए । नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘ए’ टिमले तेश्रो स्थानमा चित्त बुझायो ।

प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनतर्फ पुरुष सिंगल्समा नेपाल वायु सेवा निगमका जंगबहादुर चन्द पहिलो भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा जंगबहादुरले टेलिकमका सुरेन्द्रसिंह कार्कीलाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गरेका थिए ।

पुरुष डबल्सको उपाधि नेपाल विद्युत प्राधिकरणका राजु महर्जन र श्रीप्रसाद धिमालको जोडीले जितेका छन् । फाइनलमा उनीहरुले नेपाल टेलिभिजनका सुदीप बुढाथोकी र रामकुमार थापाको जोडीलाई २१–१२ र २१–१४ को सीधा सेटमा निराश पारेका थिए । राजु र श्रीप्रसादको जोडी भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पनि च्याम्पियन बने । राजु र श्रीप्रसादको जोडीले फाइनलमा टेलिकमका राजेश श्रेष्ठ र सुजितानन्द मल्लको जोडीमाथि २१–१३ र २१–१५ को जित हासिल गरेका थिए ।

महिला डबल्समा टेलिकमका श्रद्धा मानन्धर र गुड्डी कार्कीको जोडीले स्वर्ण जिते । विजेता जोडीले फाइनलमा विद्युतका सानुमाया ठकुरी र रिता महर्जनको जोडीलाई २१–१० र २१–९ को सेटमा पाखा लगाएका थिए ।

पेस्डान (सार्वजनिक खेलकुद विकास संघ नेपाल) एक्सिक्युटिभ डबल्सको फाइनलमा रामविनय श्रेष्ठ र रमेश कुँवरको जोडीले मित्रकुमार राई र प्रशान्त श्रेष्ठको जोडीलाई २–१ ले हराउँदै पहिलो भए ।

माघ १५ गतेदेखि सुरु प्रतियोगितामा फुटसल, ब्याडमिन्टनसहित टेबलटेनिसमा प्रतिस्पर्धा भएको थियो ।

टेबलटेनिस यसअघि नै सम्पन्न भइसकेको छ । त्यसमा ललितपुर उपमहानगरपालिकाका राजेन्द« वज्राचार्यले ३ स्वर्ण जितेका थिए । विभिन्न २३ संस्थाबाट २ सय ६५ खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ६८ हजार रुपैयाँ रहेको आयोजक पेस्डानले जनाएको छ ।