सभामुखका आकांक्षी को कहाँ ?

सभामुखका आकांक्षी को कहाँ ?


सातवटै प्रदेशको प्रदेशसभा बैठक धमाधम शुरु भएको परिवेशमा प्रदेशका सभामुखहरु कहिले चयन हुँदैछन् भन्ने जिज्ञासा सचेत तप्कामा जागेको छ । अन्य प्रदेशलाई उछिन्दै प्रदेश नं ३ को बैठक माघ १८ गते हेटौँडामा सम्पन्न भइसकेको छ भने प्रदेश नं १ र ४ को पहिलो बैठक भोलि सोमबार बस्नेछ । संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो कार्यसूची बनाएका छन् ।

प्रदेशसभाका बैठक व्यवस्थापिका–संसद्को बैठक झैँ संसदीय विधि र प्रक्रियाअनुसार नै चलाइएको छ । नेपालको केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रित बनाउने र अधिकार सम्पन्न प्रदेशसभा गठन गर्ने लक्ष्यका साथ गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनले राजनीतिक दलका आकार र प्रकारसमेत स्पष्ट पारिसकेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आज प्रदेश नं २, ५, ६ र ७ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक बस्यो । सबै प्रदेशसभाको बैठकले सभामुख चयनको कार्यसूची तय गरेको छ । प्रदेश ३ को सभामुख चयनका लागि माघ २७ गतेको मिति तय गरिएको छ भने आज बसेको प्रदेशसभाको बैठकले प्रदेश १ माघ २९ गते, प्रदेश २ आगामी फागुन २, प्रदेश ४ मा आगामी फागुन ३ (निश्चित भइनसकेको), प्रदेश ५ आगामी फागुन २ गते, प्रदेश ६ मा माघ २९ र प्रदेश ७ माघ २९ गते सभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ ।

प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलकाबीचमा समेत छलफल प्रारम्भ भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा भएको सहमतिअनुसार प्रदेश नं १, ३, ६ र ७ को सभामुखमा एमालेले उम्मेदवारी दिनेछ भने प्रदेश नं ४ र ५ मा भने माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

प्रदेश नं १ को सभामुखमा एमाले र उपसभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने सहमति यसअघि नै भएको छ । एमाले सचिव भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी छन् भने सोही पार्टीका अर्का नेता शेरधन राई पनि मुख्यमन्त्रीको आकांक्षी भएकाले सभामुखको उम्मेदवार टुंगो लागिसकेको छैन । दुईदलीय कार्यदलले सभामुख चयनमा यसअघि नै सहमति जुटाएको हो ।

प्रदेश नं २ मा भने राष्ट्रिय जनता पार्टीले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । सभामुख चयनका सम्बन्धमा छलफल जारी रहेको र केही दिनभित्रै उम्मेदवार चयन गरिने बताइएको छ । सो प्रदेशमा मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालले दाबी गरेकोले राजपाका नेता मनीष सुमन सभामुखको दाबेदार मानिन्छन् ।

प्रदेश नं ३ को सभामुखमा हालका ज्येष्ठ सदस्य डोरमणि पौडेलको सम्भावना नै बढी रहेको एमाले नेताहरुको भनाइ छ । सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको सो प्रदेशमा यही माघ २७ गते सभामुख चयन गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रदेश नं ४ मा माओवादी केन्द्रका तर्फबाट पूर्वमहिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला मुख्य प्रतिस्पर्धी रहेकी छिन्. । यस्तै गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित लेखबहादुर थापाले पनि सभामुखका लागि आकांक्षा व्यक्त गरेका बुझिएको छ ।

उता प्रदेश नं ५ मा मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको सन्दर्भमा गुल्मीबाट निर्वाचित सुदर्शन बराल, पूर्वरुकुमबाट निर्वाचित पूर्ण घर्तीले इच्छा व्यक्त गरेकी र रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुखका लागि इच्छा व्यक्त गरेका भए पनि पार्टीले गर्ने निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्ने उनीहरुको भनाई छ ।

प्रदेश नं ६ को मुख्य मन्त्री माओवादी केन्द्रले पाउने सहमति भएकाले सभामुखमा एमाले हालसम्म आधिकारिक उम्मेदवार टुंगो लगाएको छैन । सो प्रदेशमा मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका तर्फबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी चर्चामा छन्। पार्टीले गर्ने निर्णयलाई स्वीकार गर्ने शाहीको भनाइ छ ।

यस्तै प्रदेश नं ७ मा मुख्यमन्त्रीमा माओवादी केन्द्रले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको अवस्थामा सभामुखमा एमालेको तर्फबाट उम्मेदवारी दिने तयारी छ । एमालेको तर्फबाट कञ्चनपुरबाट निर्वाचित तारालाल तामाङ, बझाङबाट निर्वाचित अर्जुन थापाको चर्चा रहेको छ, तर आधिकारिक निर्णय भने हुन बाँकी रहेको छ ।

तस्बिर रासस