अवरोध पैदा भएकै हो त एकीकरणमा ?

अवरोध पैदा भएकै हो त एकीकरणमा ?


एमाले अध्यक्ष केपी ओलीकै आमन्त्रणमा भएको ठानिएको छिमेकी भारतका वाह्य मामला मन्त्री सुष्मा स्वराजको चौविस घण्टा अवधिको नेपाल भ्रमण सम्पन्न भएलगत्तै एमालेका प्रभावशाली नेता वामदेब गौतमले एमाले र माओवादी केन्द्रबीच जारी एकीकरण प्रक्रियामा गम्भीर अवरोध पैदा भएको अर्थ लाग्ने अभिव्यक्ति दिए । एमालेकै शुभेच्छुक संस्था प्रेस चौतारीद्वारा आयोजित एक विशेष कार्यक्रमा नेता गौतमको अभिव्यक्ति यसरी प्रष्फुटित भयो कि सुन्नेहरूले ठाने– दुई पार्टीबीचको बहुचर्चित एकीकरण प्रक्रिया लगभग अलपत्र परिसकेको छ । अर्थात्, वाम गठबन्धन गरेर चर्चा कमाएका एमाले र माआवादी केन्द्रबीचको ‘एकता’चाहिँ अब सम्भावनाभन्दा निकै पर धकेलिन पुगेको छ । पार्टी एकीकरणमा अवरोध पैदा भएको कुरा प्रष्टसँग बताए पनि अवरोधको जडबारे चाहिँ गौतम खुलस्त भएनन् । सायद उनी कुनै बाध्यता या दबाबमा परिरहेका छन्, त्यसैले खुलस्त हुन सकिरहेका छैनन् ।

यसरी एकीकरणका सुत्रधार मानिएका एमाले नेताको निराशाजनक अभिव्यक्ति आएकै बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि अढाइ महिनायता बेल्दै आएभन्दा फरक ‘टोन’मा मन्तव्य सार्वजनिक गरेका छन् । अखिल (क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीसँग आइतबार आफ्नै निवास खुमलटारमा छलफल गर्दै उनले नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेक प्रयत्न भइरहेको खुलासा गरे ।

प्रचण्डले भने, ‘एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेक प्रयत्न भएका छन् । त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निश्कर्षमा पुऱ्याउन हामी प्रतिबद्ध छौँ ।’

उनको अभिव्यक्ति पनि अमूर्त नै रह्यो । एकता प्रक्रिया बिथोल्ने प्रयत्न कताबाट भइरहेको छ र सार्थक निश्कर्षमा पुऱ्याउन प्रतिबद्ध ‘हामी’ को–को हुन् ? यस्तो जिज्ञासा जगाएको छ प्रचण्डको उक्त अभिव्यक्तिले ।

अखिल (क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीसँग प्रचण्डले ‘जनअपेक्षाविपरीत जाने छुट कोही–कसैलाई पनि नभएकाले पार्टी एकता जुनसुकै हालतमा पनि हुने’ विश्वास व्यक्त गर्दै गर्दा स्वयम् अखिलका नेताहरू भने रनभुल्ल मुद्रामा देखिन्थे । आफ्ना कार्यकर्तामा निराशा भाव उत्पन्न नहोस् भनेर होला सायद, प्रचण्डले अलिक जोड दिएर भने– ‘एमाले र माओवादी केन्द्रले पछाडि फर्केर जाने पुल भत्काइसकेका छन् । अब पछाडि फर्कने ठाउँ छैन । दुई ठूला पार्टीका बीचमा अगाडि बढेको सहअस्तित्वसहितको एकताका विषयमा आएका नकारात्मक टिप्पणीको कुनै अर्थ छैन ।’

अभिव्यक्तिलाई विश्वसनीय तुल्याउने अभिप्रायले उनले अगाडि थपे– ‘भाँड्ने प्रयास भएका छन् । एमाले अध्यक्ष केपी ओली र म स्वयं एकताको पक्षमा दृढताका साथ उभिएकाले कुनै पनि अवरोधले अगाडि बढिसकेको प्रक्रिया रोकिँदैन ।’ उनले त यतिसमेत भनेर कार्यकर्तालाई आश्वस्त पार्न खोजे कि उनकै शब्दमा ‘सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुऱ्याउन पहल भइरहेको छ ।’

तर, एमाले र माओवादी नेतृत्वले शुरुमा जुन गतिमा पार्टी एकीकरणको आशा जगाएका थिए, त्यो पानीका फोकासरह सावित भइसकेको आममानसले महसुस गरिसकेका छन् । जब एकीकरण प्रक्रियासँग जोडिएका शीर्ष तहका नेताहरूबाटै निराशाका अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने एमाले–माओवादी केन्द्र एकीकरण प्रक्रियाले सार्थक रूप पाउला भन्नेमा अब कति विश्वस्त रहन सकिएला ? सचेत जन–तप्काबीच गम्भीर प्रश्न ठडिएको छ । सम्भवतः एमाले र माओवादी केन्द्रका नेतृत्वले अब यो जिज्ञासाको जवाफ सकारात्मक रूपमा दिन कहिल्यै सक्ने छैनन् ।