शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ गणना शुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ गणना शुरु


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्या्पिङको सहायताले बाघ गणना हुन लागेको हो ।

बाघ गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए । ‘गणनाका लागि २६० जोर स्वचालित क्यामेरा जडान गरिएका छन्’ उनले भने, ‘निकुञ्ज भित्रका चार, जिल्ला वन कार्यालय अन्तर्गतका राष्ट्रिय वनका चार र डडेल्धुराको जोगबुढा चुरे क्षेत्रमा तीन ठाउँमा बाघ गणनाको कार्य हुनेछ ।’

गणना कार्य झण्डै बीस दिनसम्म चल्नेछ । राससका अनुसार सबै ठाउँमा एकै पटक बाघ गणनाको कार्य हुनेछ । यसका लागि ठाउँ–ठाउँमा प्राविधिकको टोली खटाइएको छ ।

डडेल्धुराको जोगबुढा क्षेत्रमा भने पहिलो पटक बाघ गणनाको कार्य हुन लागेको हो । बाघ गणना सँगै आहारा प्रजाजिका रुपमा रहेका जनावरको समेत सँगसँगै गणनाको कार्य हुने बताइएको छ ।

गत वर्षको गणनामा निकुञ्जमा १७ वटा बाघ फेला परेका थिए । बाघ गणना कार्यको शुभारम्भ आइतबार राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले गरेका थिए ।