पोखरामा प्रदेश नं ४ को पहिलो बैठक बस्दै

पोखरामा प्रदेश नं ४ को पहिलो बैठक बस्दै


पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ ।

बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गर्ने सो बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढिनेछ ।

त्यस्तै आजको बैठकले आन्तरिक कार्य्विधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

आजको बैठकमा प्रत्येक ठूला दलबाट तीन-तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक-एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम रहेको छ । बैठक करिब एक घण्टा १५ मिनेट हुने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव बुढाथोकीले बताए ।

यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद रहेका छन् । जसमध्ये नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन् ।

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख)बाट निर्वाचित राजीव गुरुङले भने हालसम्म शपथ लिएका छैनन् ।

प्रदेशको बैठकलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशसभाको सुरक्षाका लागि प्रहरी निरीक्षक लीलाराज लामिछानेको नेतृत्वमा चारजना महिलासहित १६ जना मर्यादापालक खटाइएको छ । प्रदेशसभाको बैठकलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र सुरक्षाको पूर्ण तयारी भइसकेको संघीय संसद् सचिवालयबाट अनुगमनका लागि आएका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।

संघीय व्यवस्थाअनुरुप प्रदेश नं ४ को पोखरामा हुन लागेको आजको प्रथम बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

पहिलो बैंठ्कमा प्रदेश प्रमुखको पत्र पाठ गरेर सुनाएपछि प्रदेश सभा कार्य सञ्चालन आन्तरिम कार्यविधि पारित गर्ने, सांसदहरुले शुभकामना राख्न दिने, अध्यक्षता मण्डल गठन गर्ने लगायत आजको बैठकका कार्यसूची छन् । यसका साथै फागुन ३ गतेका लागि सभामुख निर्वाचन र ६ गते उपसभामुख निर्वाचनको मिति तय हुनेछ ।

प्रदेश सभा बैठकमा प्रत्येक दलका १-१ जनाको प्रतिनिधित्व हुने गरी ५ सदस्यीय अध्यक्ष मण्डल गठन हुनेछ । ठूला पार्टीका महिला अनिवार्य हुने गरी ३-३ जना र साना पार्टीका १-१ जना गरी ११ जनालाई सोमबारको प्रदेश सभामा बोल्न दिने कार्यसूची छ । ठूलो दल एमालेले सबैभन्दा बढी ३० मिनेट संसदमा बोल्ने पाउने छन् । एमालेबाट सांसद पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सिर्जना शर्माले संसदमा आफ्नो भनाइ राख्ने बुझिएको छ ।

यस्तै, दोस्रो ठूलो दल कांग्रेसका सांसदलाई बोल्ने समय १७ मिनेट दिइएको छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली, दोबाटे विक र ललितकला गुरुङ बोल्ने कार्यसूची सभामुखलाई उपलब्ध भइसकेको बुझिएको छ । र तेस्रो दल माओवादीलाई १४ मिनेट बोल्ने समय तोकिएको छ । माओबादीबाट नेत्र अधिकारी, हरिबहादुर चुमान र गायत्री गुरुङले संसदमा मन्तव्य राख्नेछन् । साना दल नयाँ शक्ति र जनमोर्चालाई ५-५ मिनेट दिइएको छ । त्यसमा नयाँ शक्तिका हरिशरण आचार्य र जनमोर्चाका कृष्ण थापाले संसदमा भनाइ राख्नेछन् ।