जनताको नाममा युद्ध गरेर ‘राष्ट्रिय नेता’ बन्नुभएका एमाओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति या निर्वाचन नभए २५ वर्षसम्म सत्ता नछोडिने अभिव्यक्ति दिएर मुलुकमा एउटा तरङ्ग उत्पन्न गराइदिनुभएको छ । प्रचण्डको २५ वर्षे सत्ता अभिव्यक्तिलगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ आएको छ– कसैले भिख माग्दैमा सत्ता दिइँदैन । मुलुकको निर्णायक नेतृत्व तहमा रहेका यी दुई नेताको सत्ताकेन्द्रित अभिव्यक्तिपछि अब नेपाली जनतामा उहाँहरूप्रति अलिअलि भ्रम बाँकी थियो भने पनि त्यसबाट मुक्त हुन सहज भएको छ । उहाँहरूका काम गर्ने शैली र अभिव्यक्ति दुवैले ‘जनयुद्ध’ जनताका लागि नभएर सत्ताप्राप्तिकै लागि मात्रै रहेछ भन्ने कुरा प्रमाणित भएको छ । गरिबीले खान नपाएर जीर्ण शरीरबीच जीवन धानिरहेकी आमालाई खानेकुरा मागेर हैरान गर्ने छोराछोरीझैं गरी नेताहरू अहिले यो मुलुकलाई जतिसक्दो लुट्न लागिपरेका छन् । जति खाए पनि कहिल्यै सन्तुष्ट नहुने उनीहरूलाई केवल सत्ता चाहिएको छ । जनता जेसुकै गरेर जीवन धानिरहेका हुन्, मुलुकको अवस्था जहाँसुकै पुगोस्, बस् नेताहरूलाई सत्ता चाहिएको छ । सत्ताका लागि हरेक राजनीतिक दलमा कुनै न कुनै मतभिन्नता छ । मुलुक नै नरहला कि जस्तो अवस्था सिर्जना भइसक्दा पनि नेपाली काँग्रेसभित्र देखिएको गुट–उपगुटले एकातिर प्रजातन्त्रवादीहरूमा व्यापक निराशा छाएको छ भने अर्कोतिर प्रजातन्त्रका नाममा अधिनायकवादको स्थापना गर्न चाहनेहरू दशकौँसम्म एकछत्र सत्ताराजको कल्पना गर्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । कहिलेकाहीँ लाग्छ, राजनीतिले ध्वस्त पारिसकेको यो मुलुकमा के नै छ र यस्तो हारालुछ गर्नलाई ? यदि आफ्ना लागि मात्र नभएर मुलुककै लागि सोच्ने हो भने त सत्ता छोड्न गाह्रो मान्नुपर्ने या सत्ताका लागि मरिहत्ते नै हाल्नुपर्ने केही देखिँदैन । साँच्चै केही गर्न चाहने मान्छेले एउटा साधारण संस्थाको नेतृत्व लिनका लागि त धेरै सोच्नुपर्ने हुन्छ । मैले त्यहाँ गएर केही गर्न सक्छु कि सक्दिनँ ? म हुनु र नहुनुको फरक के हुनसक्छ ? आदि । तर, यहाँ त मुलुकको कुरामा समेत नेताहरू संवेदनशील छैनन् । आफू र आफ्नो दललाई सत्तामा टिकाइरहनका लागि जोसँग र जस्तोसुकै पनि सम्झौता गर्न उनीहरू तयार छन् ।
एमाओवादी नेता प्रचण्डको अभिव्यक्तितिरै एकछिन जाऊँ । उहाँ अहिले ६० को आसपास हुनुहुन्छ । अबको २५ वर्षपछि उहाँ करिब ८५ वर्षको हुनुहुनेछ । डा. भट्टराईको उमेर उहाँको भन्दा केही कमी होला, त्यो पनि त्यति धेरैको अन्तर छैन । उहाँहरूका अभिव्यक्ति सुन्दा यस्तो लाग्छ कि उहाँहरू चिरकालीन हुनुहुन्छ र अजरअमर रहनुहुनेछ । अहिलेलाई २५ वर्षजतिको कुरा गरूँ बाँकी पछि थप्दै जाउँला भन्ने शैलीमा उहाँका भनाइहरू आएका छन् । सत्ताले मान्छेलाई अन्धो बनाउँछ भनेको सुनिएको हो, साँच्चीकै रहेछ भन्नेचाहिँ प्रचण्ड–बाबुरामले महसुस गराइदिइरहनुभएको छ । उहाँहरूले कुनै दिन आफूले यो संसार छोडेर जानुपर्छ भन्ने कुरा त अहिले सोच्नु पनि भएको छैन । आफूले संसारबाट बिदा लिनुअघि मानिस केही काम गर्न चाहन्छ । त्यसका लागि सत्तामै जानुपर्छ, मन्त्री÷प्रधानमन्त्री नै बन्नुपर्छ भन्ने होइन, जोकोही मानिस मरेर पनि आफू अमर हुने केही काम गर्न पाए हुन्थ्यो भन्ने कल्पना गर्छ । यस्तो चाहनामा कोही सफल हुन्छन्, कोही हुँदैनन् । घाँसीले घाँस बेचेर कुवा खनाएको पनि आफू बितेर गएपछि पनि केही राम्रो चर्चा भइराखोस् भनेर नै हो । आफ्नै पहिचानमा बाँच्न खोज्नु र मरेपछि पनि अरूले गुणगान गाउने केही काम गरौँ भन्ने चाहना राख्नुलाई करिबकरिब जन्मजात गुण नै मानिन्छ । कतिले यसलाई फैलाउन सक्छन् कतिले सक्दैनन् त्यो अलग कुरा हो ।
इतिहासमा कुनै न कुनै राम्रो या नराम्रो काम गरेकै कारण मानिस प्रख्यात या कुख्यात हुन्छ । नेपालको इतिहासमा नेपाली–नेपालीबीच कहिल्यै नभएको युद्ध गरेर चर्चामा आउनुभएका प्रचण्ड अब जसरी हुन्छ जातीय राज्य स्थापना गरी मुलुकलाई विखण्डनमा पुर्याएरै छाड्ने एकसूत्रीय दौडमा सक्रिय हुनुहुन्छ । खासमा मुलुकलाई टुक्रा–टुक्रा नै पारूँ भन्ने नभएर सधैं कुनै न कुनै नाममा सत्तामा टिकिराखुँ भन्ने उहाँहरूको चाहना हो तर जातीय राज्य खडा गरेपछि मुलुक आफंै विखण्डनतर्फ जाने हुनाले यसलाई जोडेर हेर्न सकिन्छ । अहिले मधेसी र माओवादीबीच भएको एकता र मोर्चा पनि यसैका लागि हो । नत्र मधेसी र माओवादीका सिद्धान्त र नीति कतै पनि मेल खाँदैनन् । कुनै न कुनै नाममा सधैं सत्तामा रहने मुलुकको ढुकुटी रित्याउने सवालमा बाहेक उहाँहरूबीच कहीँ कतै मेल खाँदैन । जातीयता र क्षेत्रीयताको सवालमा माओवादी र मधेसी एक हुनुको अर्थ हो, एक मधेस र जातीय राज्य । यही नाममा यी दुई केही समय सत्तामा टिक्न चाहन्छन् । यी दुवै कुरा भएपछि पनि मुलुक बर्बाद हुन थप केही वर्ष त अवश्य लाग्छ, मुलुक जेसुकै होस् आफू बाँचुञ्जेल सत्तामा बसिरहुँ भन्ने जुन सोच देखिन्छ त्यसबाट मुलुकप्रतिको उहाँहरूको दृष्टिकोण कति घृणायोग्य छ भन्ने स्पष्ट हुन्छ । चुनाव गर्ने भनेर प्रस्ताव अगाडि सारे पनि फुट, गुट र उपगुट भएको यो समयमा इमानदारीपूर्वक चुनाव गराउने चाहना यो सरकारको होइन । प्रतिपक्षीहरू लाचार भएर र उनीहरू पनि मुलुकको हितभन्दा आफ्नै हित र एक–अर्काको खुट्टा तान्नमै अल्झिएकाले मात्रै हो नत्र ल… चुनावमा गइहालौँ चुनाव गरौँ भनेर काङ्ग्रेस—एमाले अघि सर्ने हो भने प्रचण्ड बाबुरामहरू चुनाव नगराउने माहोल निर्माण गर्नतर्फ लाग्ने निश्चित छ । भोलि आफ्नो हैसियत के होला के होला भनेर उनीहरू सकेसम्म चुनावमा जान चाहँदैनन् । निर्वाचन भनेको त प्रजातन्त्रको मुटु हो, निर्वाचन गराएर अधिनायकवाद स्थापना गर्न सकिँदैन भन्ने कुरा उहाँहरूलाई राम्ररी थाहा छ । नेपाली–नेपालीबीच फुट ल्याउनका लागि हालै गठन भएको मोर्चा र २५ वर्षे सत्ता निरन्तरताको अभिव्यक्ति यसैको उपज हो । सत्ताका लागि कुनै पनि प्रकारको सम्झौता गर्न सक्ने नेतृत्व नेपाली जनताको सबैभन्दा ठूलो दुर्भाग्य हो । राजाहरूले पहिल्यै देश भारतमा गाभ्ने प्रस्ताव गरेका थिए भनेर हावादारी कुरा गर्दै हिँड्नेहरूको सल्लाह र सुझावअनुरूप काम गर्ने नेतृत्वबाट हामीले त्यति ठूलो अपेक्षा पनि गर्न मिल्दैन । तर, यसो भन्दैमा मुलुकका सवालमा जसले जे गरे पनि नेपाली जनता मौन रहन्छन्, रहलान या रहनुपर्छ भन्ने पनि होइन ।
प्रतिक्रिया