प्रेस चौतारीको वार्षिकोत्सवमा जेष्ठ नागरिकलाई फलफुल

प्रेस चौतारीको वार्षिकोत्सवमा जेष्ठ नागरिकलाई फलफुल


वीरगञ्ज । प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी पर्सा शाखाले प्रभातफेरी आयोजना गरेको छ । वीरगञ्जको घण्टाघरबाट निस्केको प्रभातफेरी महानगरको माईस्थान, माहवीरस्थान, आर्दशनगर चौक, अलखियामढ लगायत स्थान परिक्रमा गरी पुनः घण्टाघर फर्केर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले पर्साका पत्रकार र पत्रकारितालाई अझै मर्यादित तथा व्यवस्थित बनाउनमा चौतारीले भूमिका खेल्नुपर्ने सुझाव दिए । कोणसभामा प्रेस चौतारी नेपालका प्रदेश न. २ का प्रमुख लालबाबु शेख, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, पूर्वअध्यक्ष केसी लामिछाने, सत्रुघन नेपाल, पूर्वउपाध्यक्ष ध्रुव साह, प्रेस मञ्चका केन्द्रिय अध्यक्ष सन्तोष पटेल लगायतले शुभकामना व्यक्त गरे ।

आफ्नो स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल पर्साले हरेक वर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा समेत गरेको छ । चौतारीका अध्यक्ष अनुरुप तिवारीले हरेक वर्ष स्थापना दिवसको अवसरमा पर्साका एक जना कृयाशील पत्रकारलाई १५ हजार नगदसहित पुरस्कृत गर्ने घोषणा गरे ।

कार्यक्रम प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण चौतारी पर्साका सचिव सञ्जीव मिश्राले गरेका थिए । प्रेस चौतारी नेपालको २०औं स्थापना दिवसको अवसरमा बारा शाखाले पथलैयास्थित वृद्धाश्रममा जेष्ठ नागरिक भेटघाट तथा खाद्यान्न, फलफुल वितरण कार्यक्रम आयोजना गरेको छ ।
– प्रणय साह