लोकतन्त्र जोगिए मात्र रामचन्द्र राज

लोकतन्त्र जोगिए मात्र रामचन्द्र राज


माओवादीको प्रधानमन्त्री एमालेका झलनाथ
संसद्को सबैभन्दा ठूलो दल नेकपा माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अग्रसरता लिएपछि विगत आठ महिनादेखि राष्ट्रिय सहमतिको सरकार बनाउने प्रतिबद्धता जनाउँदै आउनुभएका एमाले अध्यक्ष झलनाथ खनाल शिताङ्ग हुनुभएको छ । आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने अठोटसहित क्रियाशील खनाल प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता भएयता विकसित घटनाक्रमका कारण दिनप्रतिदिन निराश हुँदै जानुभएको छ । उहाँले अब सहमतीय होइन बहुमतीय भए पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउन थाल्नुभएको छ । यसरी खनाल ‘सहमतिको सरकार’ छोडेर निर्लज्ज ढङ्गले बहुमतीय सरकारको पक्षमा आउनुभएपछि उहाँले माधव नेपाल नेतृत्वको सरकार ढाल्न निर्वाह गर्नुभएको भूमिकाको ‘हिसाबकिताब’ गरिने बुझिएको छ । एमाले नेतृत्वमा प्रजातान्त्रिक गठबन्धनको सरकार हुँदाहुँदै प्रधानमन्त्री पदबाट माधवकुमार नेपाललाई राजीनामा गराउन खनालले निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । आफ्नै पार्टी-नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न खनालले गर्नुभएको प्रयासलाई अनैतिक एवम् अवाञ्छित चाहनाको रूपमा लिइएको छ । नेपाली काङ्ग्रेसका नेता पौडेलले मैदान छाडिदिनुभएपछि माओवादीले प्रधानमन्त्रीका रूपमा आफूलाई अघि सार्ने विश्वास झलनाथ खनालमा थियो, तर माओवादी आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसर भएपछि खनाल स्तब्ध हुनुभएको छ । यद्यपि उहाँलाई माओवादीको प्रचण्ड-किरण खेमाले आश्वासन दिन भने छोडेको छैन । त्यसैले खनालमा आशाको धुकधुकी अझै छ, उहाँ प्रचण्डलाई कसैको समर्थन नमिलेपछि उहाँले खुरुक्क आफूलाई समर्थन गर्ने विश्वासमा रहनुभएको छ । जब कि अन्त्यमा प्रचण्डलाई तराई केन्द्रित दलहरूको समर्थन मिल्ने सम्भावना टरिसकेको छैन । प्रचण्डको नेतृत्वमा सरकार बन्न नसके माओवादी विपक्षमा बस्नुपर्ने बाध्यात्मक अवस्थामा पुग्ने देखिन्छ । माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई सहित अन्य कैयन नेता झलनाथ खनालको नेतृत्वमा सरकार गठनको पक्षमा छैनन् । पार्टीलाई झलनाथको पछि लगाउनुभन्दा प्रतिपक्षी भूमिकामा राख्दा नै राजनीतिक रूपमा उचित हुने धारणा नेता भट्टराई को रहेको बताइन्छ ।
नेपाली काङ्ग्रेस र एमालेका केही नेताले माओवादी नेतृत्वमा पनि सरकार निर्माण हुनसक्ने भनी ‘कन्डिसनल’ अभिव्यक्ति दिनुभएपछि त्यसले झलनाथ खनालमा थप छटपटी बढाएको छ, यसरी छटपटी बढ्दा उहाँको प्रधानमन्त्री बन्ने सम्भावनाचाहिँ घटाएको छ । काङ्ग्रेस-एमालेका नेताले माओवादीप्रति केही लचकता अपनाउँदा प्रचण्ड निकै हौसिनुभएको छ र उहाँ अब आफैं प्रधानमन्त्री बन्न पाइनेमा विश्वस्त हुनुभएको देखिँदै छ । तर, प्रचण्डको नेतृत्वमा सरकार बन्ने परिस्थिति अझै निर्माण भइसकेको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थिति उहाँको अनुकूल हुन सकेको छैन । काङ्ग्रेस र एमालेका नेताहरूले गरेको सङ्केत डा. बाबुराम भट्टराई तिर हो । भट्टराई लाई माओवादीले अघि सारेमा माओवादी नेतृत्वमै पनि सरकार गठन हुनसक्ने धारणा काङ्ग्रेस र एमालेका नेताहरूले बनाएका छन् । तर प्रचण्डले यसलाई आफ्नो पार्टी विभाजन गराउने षड्यन्त्रका रूपमा बुझने गर्नुभएको छ । काङ्ग्रेस र एमालेका नेताहरू भने ‘डा. बाबुरामलाई प्रधानमन्त्री बनाउनेबित्तिकै फुटिहाल्ने कति कमजोर पार्टी रहेछ माओवादी’ भनी छक्क परेका छन् । राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रचण्ड, झलनाथ र बाबुराम तीनैजना नेताले बेग्लाबेग्लै पहल गरिरहनुभएको छ । यस दौडमा सबभन्दा अगाडि डा. बाबुराम भट्टराई हुनुहुन्छ भने झलनाथ खनाल सबैभन्दा पछाडि । खनालका विरुद्ध नेपाली काङ्ग्रेस, तराई केन्द्रित सम्पूर्ण राजनीतिक दल तथा एमालेकै बहुमत सदस्य देखिएका छन् । जब कि बाबुरामको पक्षमा प्रचण्ड र खनालबाहेक बाँकी सबै सकारात्मक छन् । यसरी भट्टराई को पक्षमा वातावरण बन्दै गरेको भए पनि उहाँलाई रोक्न उहाँकै पार्टीका अध्यक्ष प्रचण्ड ‘न्वारानदेखिको बल’ खर्चिने मानसिकतामा रहनुभएको बुझिन्छ । अन्य दलहरूले बाबुरामको नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय नै गरेछन् भने पनि माओवादी पार्टीभित्रबाट भट्टराई लाई रोकिने सम्भावना प्रबल छ । त्यस्तो अवस्थामा प्रचण्ड झलनाथलाई प्रधानमन्त्री बनाउन त तयार हुनुहोला, तर प्रचण्डको त्यस्तो प्रयास सफल हुन बाबुरामले दिनुहोला भन्ने देखिँदैन । भनिन्छ, डा. भट्टराई प्रचण्डकै नेतृत्वमा सरकार बनोस् भन्ने चाहनुहुन्छ, यदि उहाँको नेतृत्वमा हुन सकेन भने आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रयास माओवादी पार्टीले गर्नुपर्छ भन्ने भट्टराई को धारणा हो । यस्ता दुवै प्रयास असफल भएमा पार्टीलाई प्रतिपक्षमा राख्नुपर्छ भन्ने भट्टराई को धारणा हो, खनाललाई बनाइनुपर्छ भन्ने होइन । यदि प्रचण्ड र भट्टराई दुवै नेता प्रधानमन्त्री बन्ने प्रयासमा असफल हुनुभयो भने नेकपा एमाले विद्यमान प्रजातान्त्रिक गठबन्धनकै पक्षमा उभिन बाध्य हुनेछ । प्रजातान्त्रिक गठबन्धनले निरन्तरता पाउनु भनेको प्रधानमन्त्री पदमा रामचन्द्र पौडेलको सम्भावना बढ्नु हो । माधवकुमार नेपाल र केपी ओली तथा तराई केन्द्रित दलका नेताहरू रामचन्द्र पौडेलको पक्षमा रहनुभएको छ । यही स्थिति जीवित रहेमा पौडेल प्रधानमन्त्री बन्नुहुने निश्चितजस्तै मानिन्छ । कदाचित पौडेल प्रधानमन्त्री चयन हुन सक्नुभएन भने प्रचण्ड या झलनाथ पनि प्रधानमन्त्री बन्न सम्भव देखिँदैन । त्यस्तो अवस्थामा माधवकुमार नेपालको वर्तमान सरकारले नै निरन्तरता प्राप्त गर्ने सम्भावना बढ्नेछ ।
झलनाथ खनालले आफ्नो गल्तीको प्रायश्चित गर्दै माधव नेपालकै नेतृत्वमा सरकार निर्माण गर्न अग्रसर हुनुभयो भने फेरि पनि माधवकै नेतृत्वमा नयाँ सरकार गठन हुन असम्भव देखिँदैन । यसरी तथ्यहरूले प्रचण्ड र झलनाथको भन्दा रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नुहुने सम्भावना बढाएको छ । पौडेल प्रधानमन्त्री चयन हुनुभएन भने माधव नेपालकै नेतृत्वले निरन्तरता पाउनेबाहेक अर्को विकल्प भनेको तराई केन्द्रित दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने हो । चक्रीय प्रणालीमा तीन दलबीच सहमति भएछ भने पनि पहिलो चरणमा पौडेल नै प्रधानमन्त्री बन्नुहुनेछ । तर, चक्रीय प्रणालीमा सहमति बन्नुअघि संविधानसभाको कार्यकालबारे निर्णय हुनुपर्ने भएकोले यो विषय पनि निकै जटिल हुन पुगेको छ । संविधानसभाको कार्यकाल थप गर्ने सहमति भएमा मात्रै चक्रीय प्रणालीमा सहमति बन्न सम्भव छ । चक्रीय प्रणालीमा पनि ‘को पहिले’ भन्ने विवाद हुने स्थिति रहेकोले सरकार बहुमतीय नै बन्ने सम्भावना बढाएको छ । तराई केन्द्रित दलहरू तत्काल लोकतान्त्रिक गठबन्धनको पक्षमा देखिए पनि झलनाथ खनाल प्रधानमन्त्री बन्ने स्थिति आएमा उनीहरूले आफ्नो समर्थन प्रचण्डलाई दिएमा कुनै आर्श्चर्य हुने छैन ।