आर्थिक अनियमितताको अभियोगमा कारवाही झेलिरहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घर विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले तोडफोड गरी कब्जामा लिएका छन् । यसअघि गत असोजमा पनि सोही घरको मूल ढोकामा माओवादीले आगजनी गरेका थिए भने आज तोडफोड गर्नुअघि बन्द रहेको मूल गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै उनीहरुले एक तुलसमेत टाँगेका थिए ।
विप्लव समूहले आफ्नो पार्टीले अब ‘मास कारवाही’ शुरु गरेको जनाएको छ । सात सयभन्दा बढी मानिसको सहभागिता गराई विप्लव माओवादीले चुडामणि शर्माको घर कब्जा गरेको घटनालाई माओवादी जनयुद्धको नयाँ संस्करण ठानिएको छ ।
माओवादी सुत्रका अनुसार सो पार्टीले अब यस किसिमका क्रियाकलापलाई निरन्तरता दिनेछ ।
शर्माको घर कब्जा गरिएको खबर पाएर घटनास्थल पुगेका प्रहरीले घटनास्थलबाट करिव चार दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
प्रतिक्रिया