सानको कार्यकारी निर्देशकमा उप्रेती

सानको कार्यकारी निर्देशकमा उप्रेती


राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को कार्यकारी निर्देशकको जिम्मेवारी नवीन उप्रेतीलाई दिइएको छ ।

उप्रेती यसअघि तालिम तथा प्रशिक्षण विभागको निर्देशक थिए । सानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधान ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास भएपछि सानमा कार्यकारी निर्देशकको पद रिक्त थियो ।
तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी रिम रानाभाटलाई दिइएको छ ।

रानाभाट तालिममा आउनुअघि राष्ट्रिय टिम तयारीमा थिए । राष्ट्रिय टिममा तालिमका उप निर्देशक अर्जुन विकलाई सारिएको छ । रानाभाट र विकले पद वहाली गरिसकेका छन् भने उप्रेतीले माघ २१ गते सोमबारदेखि कार्यभार सम्हालेका हुन् । २०४५ सालमा राखेपमा जिम्न्याष्टिक प्रशिक्षकको सेवामा प्रवेश गरेका उप्रेतीले खेलाडी जीवनमा जिम्न्याष्टिकका ७ राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

त्यसमा उप्रेतीले १५ स्वर्ण, ८ रजत र ४ कांस्य जितेका थिए । उनले सन् १९९० मा जर्मनी विश्वविद्यालयमा प्रशिक्षकको आठ महिने अन्तर्राष्ट्रिय तालिम लिएका थिए । पद वहालीपछि उप्रेतीले म भन्दा पनि हामी भन्ने भावनका साथ काम गर्ने बताउदै संस्थाको हितलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।