स्वराजको भ्रमणले एकता प्रक्रियामा असर नपार्ने प्रभाकरको प्रष्टोक्ति

स्वराजको भ्रमणले एकता प्रक्रियामा असर नपार्ने प्रभाकरको प्रष्टोक्ति


दुई वाम पार्टीको एकीकरण प्रक्रिया अवरुद्ध बनेको विश्लेषण भइरहेको बेला नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेकपा (एमाले) र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको दाबी गरेका छन् । प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रममा उनले अब एकता घोषणा हुन मात्र बाँकी रहेको दाबी गरेका हुन् ।

उनका अनुसार पछिल्ला दिनमा सकारात्मक छलफल भइरहेको छ, दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ । एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको जनाउँदै उनले एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न आग्रह समेत गरे ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा खलल पुगेको अनुमान गर्नेहरुलाई लक्षित गर्दै प्रभाकरले स्वराजको भ्रमणले एकतामा कुनै प्रभाव नपार्ने प्रस्ट्याए ।

सञ्चारकर्मीहरुसँग नेता शर्माले माओवादीको भागमा परेको प्रदेश नं ६ को मुख्यमन्त्रीको टुङ्गो माघ २५ गते निश्चित रुपमा लाग्ने बताउँदै यसको टुङ्गो लगाउन पार्टीको विधि पद्धतिअनुसार अघि बढ्ने धारणा व्यक्त गरे ।