अढाइ महिनापछि पद छोड्दै देउवा

अढाइ महिनापछि पद छोड्दै देउवा


चुनाव सम्पन्न भएको साढे दुई महिनापछि शेरबहादुर देउवाले प्रधानमन्त्री पद त्याग गरी नयाँ सरकार गठनको ढोका खोलिदिने भएका छन् । माघ २४ गते राष्ट्रिय सभा निर्वाचन सम्पन्न हुनेबित्तिकै पदबाट राजीनामा दिने सोचमा रहेका देउवालाई उनका सल्लाहकारहरूले निर्वाचनको परिणाम आइसकेपछि मात्र पद त्याग गर्नु उचित हुने भनी सुझाएपछि थप केही दिन उनी पदमा वहाल रहन तयार भएको बुझिएको छ ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई विधिवत् अवगत गराएपछि देउवाले पद त्याग गरी नयाँ सरकार गठनको मार्गप्रशस्त गर्ने भएका छन् । एक सूत्रले जनाएअनुसार देउवा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आयोजित समारोहमा सहभागी भएर त्यसपछि पद छोड्ने योजनामा छन् ।

तर, उनले आफ्नो सचिवालयमा विभिन्न सरकारी निकायबाट काजमा ल्याएका कर्मचारीहरूको काज फिर्ता गर्ने काम भने गत सातादेखि नै सुरु गरिसकेका थिए । यसले नयाँ सरकार फागुनको दोस्रो साताभित्र गठन हुने सम्भावना देखाएको छ । सरकारबाट बाहिरिएपछि देउवा पार्टी काममा केन्द्रित हुने निश्चित भएको छ ।

चुनावमा काङ्ग्रेस पराजित भएपछि त्यसको नैतिक जिम्मेवारी लिन देउवामाथि दबाब परिरहेको छ । उनले पार्टीको हारका निम्ति आफू मात्र जिम्मेवार नभएको बताउँदै आएका छन् । तर, पार्टीका नेता तथा कार्यकर्ताहरूले भने तत्काल महासमिति बैठक बोलाएर छलफल गरी नेतृत्व परिवर्तन र सङ्गठन सुधारको निम्ति विशेष पहल गर्ने तत्परता लिइरहेका छन् । देउवालाई संसदीय दलको नेतामा टक्कर दिन नेता प्रकाशमान सिंहले अग्रसरता लिइरहेका छन् ।