फेरि शुरु हुँदै हिंसात्मक सङ्घर्ष

फेरि शुरु हुँदै हिंसात्मक सङ्घर्ष


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली राष्ट्रिय हितविरुद्ध कुनै न कुनै भूमिका निर्वाह गर्नेहरूलाई छानीछानी जनकारबाही गर्ने तयारी गरेको समाचार प्राप्त भएको छ । समाचारअनुसार यसै सातादेखि तीन महिनासम्म पार्टी सुदृढीकरण, जनपरिचालन र जनकारबाहीलाई उक्त पार्टीले एकसाथ अघि बढाउने भएको छ ।

गत पुस २६ देखि माघ २ गतेसम्म बसेको पार्टी केन्द्रीय समिति बैठकले सङ्गठन निर्माण र सङ्घर्षका कार्यक्रमलाई एकसाथ अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम अघि बढाइने कार्यक्रमको दौरानमा देश र जनताको जीवनसँग खेलवाड गर्ने या धोखाधडी गर्नेहरूलाई लक्षित गरी विभिन्न आक्रामक कारबाहीहरू गरिने बुझिएको छ । यस्तो कारबाहीलाई ‘मास कारबाही’को नाम दिएका छन् र केही समययता अधिक विवादमा तानिएका कर्मचारी चूडामणि शर्माको बूढानीलकण्ठस्थित बङ्ला कब्जामा लिएर कारबाही प्रारम्भ गरेका छन् ।

नेकपाले शुरु गर्ने जनकारबाहीको सिकार सर्वसाधारण जनताले हुनु नपर्ने, विभिन्न जिम्मेवारीमा रहेर देश र जनतालाई धोखा दिनेहरूको पहिचान गरी त्यस्ता व्यक्तिहरूलाई मात्र आवश्यक कारबाही गरिने सम्बद्ध पक्षको दाबी छ ।

गत मङ्सिर २१ गते सम्पन्न निर्वाचन बहिष्कारको नीति लिएको नेकपाले चुनावका क्रममा विभिन्न पार्टीका उम्मेदवारहरूलाई लक्षित गरी बम विस्फोटन गराएको थियो । त्यसक्रममा उदयपुरका काङ्ग्रेस उम्मेदवार नारायण कार्कीलगायत सख्त घाइते भएका थिए भने काङ्ग्रेस नेता डा. रामशरण महत र माओवादी नेता वर्षमान पुन निकै मुस्किलले बाँच्न सफल भएका थिए । अबको कार्यक्रम गत निर्वाचनको भन्दा आक्रामक र व्यवस्थित हुने दाबी उक्त समूह सम्बद्ध एक सूत्रको भनाइ छ ।

नेकपाले शुरु गर्ने जनकारबाहीको सिकार सर्वसाधारण जनताले हुनु नपर्ने, विभिन्न जिम्मेवारीमा रहेर देश र जनतालाई धोखा दिनेहरूको पहिचान गरी त्यस्ता व्यक्तिहरूलाई मात्र आवश्यक कारबाही गरिने सम्बद्ध पक्षको दाबी छ । नेपाल कम्युनिष्ट पार्टीको यस्तो निर्णयले मुलुक पुनः हिंसात्मक द्वन्द्वमा फस्न सक्ने सम्भावना बढाएको छ । तर, अबको युद्ध देशभक्तिको पक्षमा र राष्ट्रद्रोहीको विरुद्धमा केन्द्रित रहने बताइएको छ ।