उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमले मोहम्मद लालबाबु राउत गद्दीलाई प्रदेश संसदीय दलको नेता चयन गरेपछि उपेन्द्रको प्रशंसा र राउतको चर्चा चुलिएको छ । प्रदेश सभामा फोरमबाट संसदीय दलको नेता बन्ने व्यक्ति नै दुई नम्बर प्रदेशको मूख्यमन्त्री बन्ने निश्चित भएकोले फोरमले नेता चयन गर्ने व्यक्तिबारे व्यापक चासो उत्पन्न भएको थियो ।
उपेन्द्र यादवले यादवहरूमध्येकै कसैलाई दलको नेता चयन गर्न सक्ने अनुमान भइरहेका बेला मुसलमान समुदायका मोहम्मद लालबाबु राउतलाई नेता बनाएको खबर सार्वजनिक भएपछि सो प्रदेशमा यादवबाहेकको समुदायमा त्यसको प्रशंसा भएको छ । साथै यस निर्णयले उपेन्द्र यादव उदार र दूरदर्शी नेता भएको सन्देश पनि दिएको छ । लालबाबु आफैँमा योग्य र प्रतिष्ठित व्यक्ति भएकोले उनी मुख्यमन्त्रीका हकदार त छँदै थिए, तर उपेन्द्र यादवले मोहम्मद गद्दीलाई नै किन चाहेका हुन् मुख्य चासोको विषय बनेको छ ।
प्रदेश फोरम संसदीय दलको नेतामा राउत गद्दीसहित विजय यादव, योगेन्द्र राम यादव, कौशलकुमार यादव, शैलेन्द्र साह, सरोज सिंह र प्रह्लाद गिरीले दाबी गरेका थिए । सबैलाई छोडेर उपेन्द्रले गद्दीलाई साथ दिनुको कारण केलाउँदा केही रोचक पक्षहरू देखिन्छन् । स्मरणीय पक्ष के हो भने सङ्घीय फोरमलाई यादवमैत्री पार्टी मानिन्छ र राजपालाई गैरयादवमैत्री तथा खासगरी ब्राह्मण–क्षेत्रीमैत्री पार्टीका रूपमा बुझिन्छ । त्यसैले उपेन्द्र यादवले कुनै यादवलाई भावी मुख्यमन्त्रीका रूपमा पेस गर्ने हुन् कि भन्ने चिन्ता राजपाभित्र प्रकट भएको थियो । अपेक्षा र अनुमानविपरीत एक मुसलमानलाई प्रस्तुत गरिएपछि राजपाले राहत महसुस गरेको बताइन्छ ।
उता उपेन्द्र यादव स्वयम् पनि अर्को कुनै यादवलाई मुख्यमन्त्री बनाएर ‘आफ्नै खुट्टामा बन्चरो हान्ने’ मनस्थितिमा नरहेको उनको निकटवर्तीहरूको भनाइ छ । कुनै यादवलाई मुख्यमन्त्री बनाइँदा कालान्तरमा तिनै व्यक्ति नेता बनेर आफूलाई चुनौती दिन सक्ने सम्भावनाप्रति दृष्टिगत गरी उपेन्द्र यादवले लालबाबु राउत गद्दीलाई अघि सारेको देखिएको छ । यादव मुख्यमन्त्री हुँदा यादव समुदायले तिनैलाई नेता बनाइदिने खतरा एकातिर थियो भने अर्कोतिर उक्त पदका निम्ति धेरैजना यादवले इच्छा राखेकोले एउटालाई सहयोग गर्दा अरू यादव रिसाउने स्थिति पनि थियो ।
ब्राह्मण, क्षेत्री, वैश्य, भूमिहार र साह तेली आदि मध्येबाट मुख्यमन्त्री बनाउँदा पनि बन्ने व्यक्ति आफ्नै समुदायप्रति ज्यादा संवेदनशील हुन सक्ने र भविष्यमा ‘खतरा पैदा हुने’ पक्षलाई समेत ध्यानमा राखेर उपेन्द्र यादवले राउत गद्दीलाई संसदीय दलको नेतामा समर्थन गरेको देखिन्छ । राउतलाई मुख्यमन्त्रीको रूपमा अघि सारेर उपेन्द्र यादवले एकैपटक अनेक बाजी मारेका छन् । पहिलो, उनले आफूलाई भविष्यमा उत्पन्न हुन सक्ने चुनौतीलाई अहिले नै परास्त गरेका छन् । दोस्रो, अन्य जातीय तथा राजनीतिक समूहको सहानुभूति प्राप्त गर्ने काम पनि यादवबाट भएको छ ।
सङ्घीय फोरमले मुख्यमन्त्री र प्रदेश सभाको उपसभामुख तथा राजपाले सभामुख र उपमुख्यमन्त्रीसहित केही महत्वपूर्ण मन्त्रालय लिने गरी दुई पक्षबीच सहमति बनेको छ । राजपाले जितेन्द्र सोनललाई सभामुख बनाउने सङ्केत दिएको छ । फोरमले उपसभामुखमा उपमा यादवलाई अघि सार्ने बुझिएको छ । रामनरेश यादव र मनीष सुमनको नाम पनि सम्भावित सभामुख र उपसभामुखको रूपमा चर्चामा आएको छ । राजेन्द्र महतो खेमाले उपसभामुखमा नवलकिशोर साहलाई प्रस्तुत गर्न चाहेको छ ।
प्रतिक्रिया