खेलकुदमा मौलायो म्यानपावर धन्दा, राखेप मौन

खेलकुदमा मौलायो म्यानपावर धन्दा, राखेप मौन


– श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद्ले नेपाल कुराँस सङ्घलाई विघटन गर्दै तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको संयोजकमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कुराँस सङ्घका पूर्वमहासचिव ध्रुव न्यौपानेलाई संयोजक बनाइएको छ । साथै उक्त तदर्थ समितिलाई तीन महिनाभित्र सङ्घको निर्वाचन गर्न पनि परिषद्ले निर्देशन दिएको छ । राखेपको यो निर्देशनले गत वर्ष मात्रै गठन भएको कुराँस सङ्घको निर्वाचन पुनः हुन लागेको हो । कुराँस सङ्घका अध्यक्ष दानबहादुर घिसिङले गैरकानुनी रूपमा सङ्घलाई प्रयोग गर्दै मानव तस्कर गरेको प्रमाणित भएपछि परिषद्ले कुराँस सङ्घलाई विघटन गरेको हो ।

प्राप्त जानकारीअनुसार गत नोभेम्बरमा दक्षिण कोरियामा आयोजित कुराँस च्याम्पियनसिपमा नेपालको तर्फबाट दुईजना खेलाडी कृष थापा र गौरव घर्तीमगरले सहभागिता जनाएका थिए । उनीहरूको प्रशिक्षकमा चन्द्र बुढामगर र व्यवस्थापकको जिम्मेवारी राजेन्द्र लौडारी थिए । कोरिया गएका यी चारजनामध्ये कृष थापा मात्रै नेपाल फर्किएका थिए । अन्य तीनजना उतै बेपत्ता भएका थिए । कोरियामा बेपत्ता हुनेमा कुराँस सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लौडारी पनि थिए । सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र नै कोरिया पलायन भएपछि खेलकुदमा विभिन्न चर्चा–परिचर्चा चलेको थियो । तत्कालीन समयमा तीनजना कोरियामा पलायन भएको खबरबारे सङ्घका अध्यक्ष घिसिङसँग सम्पर्क गर्दा उनले खेलाडी, प्रशिक्षक र पदाधिकारी पलायन नभएको दाबी गरेका थिए । एक महिनाको भिसा भएकाले साथीहरूसँग भेटघाट गरेर फर्कने विश्वास दिलाएका थिए । अहिले तीन महिना बितिसक्दा पनि उनीहरू नफर्किएपछि घिसिङ नै नेपालबाट बेपत्ता भएका छन् । उनीसँग यो घटनाबारे जानकारीका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । घिसिङ यतिबेला स्वदेशमा छन् कि विदेशमा त्यसबारे राष्ट्रिय खेलकुद परिषद्लाई पनि कुनै जानकारी छैन ।

कुराँस सङ्घकी उपाध्यक्ष प्रतीक्षा खरेलले आफूलाई यो घटनाबारे कुनै जानकारी नभएको बताएकी छिन् । अनअफिसियल गेम भएकाले यो गेमबारे सङ्घलाई कुनै जानकारी छैन । यो सबै कार्य अध्यक्ष दानबहादुर घिसिङ र वरिष्ठ उपाध्यक्ष राजेन्द्र लौडारी गरेको आरोप उनले लगाएकी छिन् । उनीहरूले नै व्यक्तिगत रूपमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको छनोट गरेको खुलासा उनले गरिन् । उपाध्यक्ष खरेलको यो बयानलाई मध्यनजर गर्दा घिसिङ र लौडारी यो घटनाको प्रमुख योजनाकार भएको ठोकुवा गर्न सकिन्छ । अन्यथा कुराँस खेलको च्याम्पियनसिपमा सहभागिता जनाउँदा सङ्घलाई अवश्य जानकारी हुन्थ्यो । तर, उनीहरूले यो कुरालाई गोप्य राख्दै आफ्नो कर्तुतलाई अन्तिम परिणाम दिन सफल भएका थिए । जसले अहिले सिङ्गो खेलकुदलाई विवादमा तानेको छ । खेलकुदका राष्ट्रिय सङ्घ खेलकुदको विकास र विस्तारका लागि नभई विदेश सयर गर्ने, डलर कमाउने र म्यानपावरको धन्धा गर्ने अखडा बन्दै गएको प्रस्ट भएको छ ।

घिसिङले खेलकुदमा म्यानपावरको धन्धा गर्दै गैरखेलाडीलाई विदेश पठाउँदै लाखौँ रुपैयाँ कुम्ल्याउँदै आएको यो घटनाले लालमोहर लगाएको छ । अहिले कोरियाको घटना सार्वजनिक भए पनि घिसिङलेविगत एक वर्षको अवधिमा कति यस्ता मानव तस्करीका घटना घटाए त्यसको खुलासा हुन बाँकी छ । अर्को कुरा योे म्यानपावार धन्धामा घिसिङ एक्लो वृहस्पति हुन् कि अन्य पदाधिकारीको पनि साँठगाँठ छ त्यसमाथिको पर्दा उठ्नु पनि जरुरी भइसकेको छ । यतिबेला राष्ट्रिय खेलकुद परिषद्ले कुराँस सङ्घ विघटन गरेर तदर्थ समिति बनाउँदै तीन महिनाभित्र निर्वाचन गर्न निर्देशन दिए पनि त्यो नै समस्याको समाधान हो भन्ने अवस्था छैन । यसर्थमा कि कुनै सङ्घका पदाधिकारी म्यानपावरको धन्धामा लिप्त छन् भने त्यसको गहिराइसम्म परिषद् पुग्नुपर्छ । त्यसपछि विघटन र पुनर्गठन नभई जरैदेखि उखेलेर फ्याँक्ने आँट र साहस राखेपले देखाउनुपर्छ । निलम्बन र निष्कासन समाधानको पाटो होइन, समाधानको पाटो भनेकोे त्यो सङ्घको क्रियाकलाप हो । जसले खेलकुदमा कत्तिको प्रभाव पारिरहेको छ ? छ भने त्यसको उपचार भनेको जरैदेखि उखेलेर फाल्नु हो । त्यो राखेपले गर्नुपर्छ ।

खेलकुदमा घिसिङ ‘माहिर खेलाडी’को रूपमा चिनिन्छन् । समयअनुसार चल्न सक्ने र फाइदा लिन सक्ने उनको खुबी छ । विगतमा घिसिङले राखेपमा ‘साम्बो’ खेल दर्ता गरेका थिए, पछि के कारणले घिसिङलाई उक्त सङ्घबाट हटाइयो त्यसको पनि कारण होला । त्यसै त संस्थापकलाई कसैले हटाउँदैन । कतै त्यसबेला पनि घिसिङले यस्तै म्यानपावरको धन्धा गरेका थिए कि प्रश्न उठ्नु स्वाभाविकै भएको छ । अन्यथा गत वर्ष मात्रै नयाँ खेलको रूपमा दर्ता भएको कुराँस सङ्घ अहिले किन विघटन भयो त ? त्यसको कारकतत्व पनि घिसिङ नै बनेका छन् । यस्तो अवस्थामा घिसिङमाथि छानबिन मात्र होइन, उनले विगत र वर्तमानमा खेलकुदमा गरेका गैरकानुनी क्रियाकलापको राखेपले सूक्ष्म रूपमा अध्ययन गर्नुपर्छ । अन्यथा विभिन्न खेल सङ्घका पदाधिकारीका कारण म्यानपावरको अखडाको रूपमा परिणत हुँदै आएको राखेप भोलि गैरखेलाडीलाई विदेश पठाउने थलो नबन्ला भन्न सकिँदैन ।

कृष थापा एउटा पात्र मात्रै हुन्, जसले नेपाली खेलकुदमा मौलाउँदै गएको म्यानपावरको धन्धाको उजागार गरेका छन् । कृषले आफूलाई आर्थिक मात्र नभई मानसिक रूपमा पनि खेलकुदका पदाधिकारीले दुःख दिएको प्रतिक्रिया दिएका छन् । एउटा गैरखेलाडी, जसलाई कुराँस खेलबारे कुनै जानकारी छैन, जसले त्यो खेलको नाम कहिल्यै सुनेको छैन र देखेको पनि छैन । त्यस्तो व्यक्तिले बिनाप्रशिक्षण रिङमा उत्रिनुपर्दा र व्यावसायिक खेलाडीसँग खेल्नुपर्दा कस्तो महसुस गर्ला त्यो सोझै अनुमान लगाउन सकिन्छ । खेल्न त परै जाओस् देख्नसमेत नपाएका कृषले अन्तर्राष्ट्रियस्तरमा एकैचोटि प्रतिस्पर्धा गर्दा उनको मानसिक स्थितिमा परेको असर घिसिङजस्ता खेलकुदको नाममा म्यानपावरको धन्धा गर्नेले कसरी बुझुन् । घिसिङलाई मात्र पैसा चाहिएको थियो, उनले पाए । अन्तर्राष्ट्रियस्तरमा मुलुकको बेइज्जत गराए, त्यो नै उनको सफलता बन्यो । तर, यस्तालाई कानुनी कठघरामा कसले पु¥याउने त्यो अहिले अहम् विषय बनेको छ ।

कुराँस खेललाई प्रयोग गरेर घिसिङले म्यानपावरको धन्धा गर्दै आएको छताछुल्ल भइसकेको छ । तर, विडम्बना, राखेपलाई यसबारे कुनै जानकारी छैन । राखेपका सदस्यसचिव केशवकुमार विष्टले पनि यो कुरालाई स्वीकारेका छन् । खेलकुदको सर्वोच्च निकाय खेलकुदमा यस्तो गैरकानुनी धन्धा मौलाउँदासमेत अनविज्ञ हुन्छ भने यसको अर्थ जे पनि लगाउन सकिन्छ । परिषद्मा सङ्घ दर्ता गर्ने सक्ने राखेपले ती सङ्घहरूले के–कस्ता गतिविधि गरिरहेका छन् त्यसको अनुगमन पनि गर्न सक्नुपर्छ । अन्यथा सङ्घ गठन गर्दैमा र सङ्ख्या वृद्धि गर्दैमा खेलकुदको विकास हुने हो र ? यसमा राखेप गम्भीर हुनु जरुरी छ । घिसिङले कोरियामा गैरखेलाडी पठाएर गैरकानुनी धन्धा गरेको थाहा पाएपछि सदस्यसचिव विष्टले जुन कदम उठाए त्यो सकारात्मक भए पनि यसले यो धन्धामा संलग्न रहेका अन्य व्यक्तिलाई पाठ सिकाउन कत्तिको सफल हुन्छ त्योचाहिँ चुरो कुरो हो । खेलकुदमा म्यानपावरको धन्धा गरेर करोडौँ रकम आर्जन गरेपछि दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउनु पानीको फोकाजस्तै हो । यसले खेलकुदलाई अझै दलदलमा भसाउने पक्का छ ।