माओवादी युद्ध र कम्युनिष्टसँगको सम्बन्ध तोडिएको घोषणा गर्दै नयाँ शक्ति नामक दल खोलेर राजनीतिमा सक्रिय डा. बाबुराम भट्टराईले दशवर्षे युद्धको जिम्मेवारी आफूले लिने बताएका छन् । सरकारले दशवर्षे हिंसात्मक युद्धका क्रममा मारिएका सेना, प्रहरी, कर्मचारी, शिक्षकलगायतलाई शहीद घोषणा गर्ने निर्णय गरेपछि डा. भट्टराईले एमाओवादी नेता प्रचण्डलाई प्रश्न गरेका छन्– युद्धका कमान्डर प्रचण्डको यो विषयमा भनाइ के हो ?
आफूहरू सरकारमा हुँदा राज्यका तर्फबाट मारिएका माओवादीहरूलाई शहीद घोषणा गरिसकेका एमाओवादी नेताहरूले यो विषयमा प्रतिक्रिया दिएका छैनन् । सरकारी निर्णयपछि ट्विट गर्दै डा. बाबुराम भट्टराईले भनेका छन्, ‘सरकारले धमाधम शान्तिसम्झौताविपरीत सत्यनिरूपण र बेपत्ता आयोगहरूको काम नसकिँदै विद्रोही पक्षबाट मारिएकालाई मात्र शहीद घोषणा गर्ने जुन काम गरिरहेको छ त्यसबारे जनयुद्धका कमान्डर प्रचण्ड के भन्नुहुन्छ ? अन्यथा क्रान्तिकारी जनपरिषद्को प्रमुखको हैसियतले मैले जिम्मेवारी लिनुपर्ने हुन्छ । ’
डा. भट्टराईको यस अभिव्यक्तिले उनी माओवादी युद्धको धङधङीबाट मुक्त भइनसकेको देखाउँछ भने लडाकुको मन जितेर आफ्नो पार्टी बलियो बनाउने सपना पनि उनमा देखिन्छ । माओवादीबाट मारिएकाहरूलाई शहीद घोषणा गर्दा बाबुरामले मन दुखाएका मात्र छैनन्, उनले सरकारको त्यस्तो निर्णयविरुद्ध प्रचण्डलाई उचाल्ने (प्रोवोक गर्ने) प्रयास पनि गरेका छन् । ज्ञातव्य छ, युद्धकालमा माओवादीले गठन गरेको समानान्तर सरकार जसलाई क्रान्तिकारी जनपरिषद् भनिन्थ्यो, त्यसको नेतृत्व बाबुराम भट्टराईले गरेका थिए । शक्तिहीन भएपछि यतिबेला उनले आफ्नो पुरानो हैसियतको स्मरण गरेका छन् ।
प्रतिक्रिया