राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनको बहुमत, पुगेन एमालेको बहुमत

राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनको बहुमत, पुगेन एमालेको बहुमत


बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक्लैको स्पष्ट बहुमत आउन नसकेपनि वाम गठबन्धनको भने बहुमत आएको छ ।

निर्वाचनको पछिल्लो परिणामअनुसार वाम गठबन्धन ३६ सिटमा विजयी भएको निर्बाचन आयोगले जनाएको छ । आयोगका अनुसार ५६ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले १३ सिट मात्र जितेको छ भने मधेस केन्द्रित दुई दलले चार सिटमा जित चित्त बुझाएका छन् ।

प्रतिनिधि र प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको एमालेले २५ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले ११ सिट मात्रै जितेको छ । उता दोस्रो ठूलो दल नेपाली कांग्रेसले १३ स्थानमा जित हासिल गरेको छ ।

एमालेले सबैभन्दा धेरै प्रदेश नम्बर एक र तीनबाट पाँच–पाँच सिट जितेको छ भने सबैभन्दा काम प्रदेश दुईमा एक सिटमा मात्र सीमित बनेको छ । आयोगका अनुसार एमालेबाट ११ महिला निर्वाचित भए भने कांग्रेसबाट ६ र माओवादीबाट तीन महिला राष्ट्रिसभामा विजयी हुन सफल भएका छन् ।

निर्बाचन आयोगका अनुसार प्रदेश १ बाट एमाले पाँच, कांग्रेस दुई र माओवादी केन्द्र एक स्थानमा विजयी भए भने प्रदेश २ मा कांग्रेस, राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरम दुई–दुई स्थानमा र एमाले र माओवादी एक–एक स्थानमा विजयी भए ।

प्रदेश ३ मा एमाले पाँच, कांग्रेस दुई र माओवादी एक स्थानमा विजयी भए भने प्रदेश ४ मा कांगे्रस र एमाले तीन–तीन तथा माओवादी दुई स्थानमा विजयी भएका छन् । यस्तै, प्रदेश पाँचबाट एमाले चार, कांग्रेस र माओवादीको दुई–दुई ठाउँमा जित्न सफल भएका छन् । उता, प्रदेश ६ मा एमाले ३, माओवादीले २ जितेका छन् भने प्रदेश सातमा एमालेले चार, कांग्रेस र माओवादीले दुई–दुई सिट जितेको निर्बाचन आयोगले जनाएके छ ।

५९ सदस्य रहने राष्ट्रियसभामा ५६ जना निर्वाचनको प्रक्रियाबाट र बाँकी ३ जनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाका निर्वाचन प्रणालीबाट आउने ५६ सिटमध्ये नेकपा एमालेले २७, नेपाली कांग्रेसले १३, माओवादी केन्द्रले १२ र राजपा र संघीय समाजवादी फोरमले समान २–२ सिट जितेका छन् ।