—ठक्करप्रसाद शर्मा
एनेकपा माओवादी यसबेला महाधिवेशनको सङ्घारमा उभिएको छ । मोहन वैद्य उर्फ किरणले पार्टीमा विभाजन ल्याएपछि केही समयअघि राजधानीमा सम्पन्न सातौँ विस्तारित बैठकले प्रचण्डबाट प्रस्तुत भएको कार्यदिशा तथा कार्यक्रमलाई पारित गर्दै गुट–उपगुट भत्काउने रणनीति र योजनाका साथ नयाँ पार्टी निर्माणको दिशामा अघिबढ्ने उद्घोषसहित यसबेला विभिन्न सभा बैठक सम्मेलन र तयारीमा जुटेको छ । राज्य समितिस्तरका भेला र प्रशिक्षणहरू पार गर्दै अघि जाने अभियानमा एनेकपा माओवादी रफ्तारले लागेको छ । विचार प्रस्तुत र घटना व्यवहार सायद यसबेला भनेजस्तो ठ्याक्कै गुट भत्काउने र आइन्दा नबन्ने भनेजस्तो दृश्य भने माओवादीमा देखिएको छैन । यसै विषयमा यहाँ चर्चा गर्ने प्रयाससम्म गरिएको छ । खासगरी राज्य समितिस्तरका भेला, प्रशिक्षण तथा ललितपुर जिल्लाको जिल्लास्तरीय कार्यकर्ताबीचका भेलाहरूमा यो लेखक आफैं पनि सहभागी बन्दै आएको छ । यही भदौ ६ र ७ गते भएका भूगोल क्षेत्रका भेलाहरूको अध्ययनका आधारमा यो आँकलन प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
कार्यविभाजनले देखाएको झलक
हामीजस्ता एक्लै अर्को पार्टीबाट प्रवेश गर्नेहरूप्रति नेतृत्वले खासै पूर्वाग्रह राखेको छैन । हाम्रो ललितपुरकै इन्चार्जमा पनि अर्कै पार्टीबाट आएका मानिसलाई जिम्मेवारी दिइएको छ । तर नातागोता र कतै जोडिएको आधारमा माओवादीभित्र मौलिक माओवादी र आगन्तुक भनिने ठूलो खाडल छ । त्यो खाडलको मारमा उदाहरणका निम्ति मेरा पुराना मित्र ललितपुरका प्रेम सिंह भनिने मान्छे परेको चित्र प्रस्तुत गर्न सकिन्छ । समग्रतामा माओवादी पार्टीभित्र पाँच तह छन् र पाँच तहको वर्गीकरण फरक–फरक छ । ती तह हुन्– १) पहिलोमा मोटो मशाल २) दोस्रोमा पातलो मसालबाट आएकाहरू ३) तेस्रोमा एकताकेन्द्रबाट आएकाहरू ४) चौथोमा मोहनविक्रम स्कुलबाट आएका अन्यहरू र पाँचौँमा एमाले–माले धारका मित्रहरू । यसबेला सबैभन्दा अपमानित माले एमालेधारबाट आएकाहरू माओवादीमा रहेका छन् । उनीहरूको जिम्मेवारी खासै अर्थपूर्ण देखिँदैन । किरणजीहरू पार्टीभित्र रहँदासम्म कमरेड प्रचण्डको घाँटी कमरेड बाबुरामसँग होइन कमरेड प्रकाशसँग जोडिएको थियो । बाबुरामजीलाई अपमान गर्ने नियतमा जाँदा विस्तारित बैठकमा हातपाइका घटनाहरू सूचनाका बाहक मिडियाले बाहिर ल्याएका थिए । त्यसबेलासम्म पनि प्रचण्ड–प्रकाश गठबन्धन कसिलो थियो । तर, हालैका कार्यविभाजन र महाधिवेशनको चित्र बाहिर आउँदा अहिलेको अवस्थामा प्रकाश गुटको हात काटिएको अनुभूति गर्न सकिन्छ । भूगोलको जिम्मेवारीमा होस् या अन्य विभिन्न जस्तै मजदुर, बुद्धिजीवी, सम्पर्क मञ्च, विद्यार्थी तथा युवा परिचालन कतै पनि एकताकेन्द्रको धारबाट आएका मानिसहरूलाई जिम्मेवारीको भारी बोकाएको पाइँदैन । केही क्षेत्रका गतिविधिको रिपोर्ट यस पङ्क्तिकारसामु नआएको भए पनि अन्य इकाइ वा क्षेत्रहरूको भेला र बैठकहरूको प्राप्त रेकर्डअनुसार के सुन्नमा आएको छ भने एकताकेन्द्रबाट आएकाहरूलाई भेलाहरूमा पनि निस्क्रिय र अप्रत्यक्ष ढङ्गले आलोचित र विरोध गर्ने काम गरिँदै छ । जताततै प्रचण्ड बाबुराम समर्थककोे उपस्थिति र प्रकाश समर्थकहरूको अनुपस्थितिले यसपल्टको महाधिवेशन प्रचण्ड तथा बाबुराम नायक हुने अधिवेशनको रूपरेखा तयार हुन गएको छ । सायद महाधिवेशनको भेलले प्रकाश गुटका धेरैलाई बगायो भने यसमा अनर्थ मान्नु नपर्ला । तर योसँगै एकताको नाममा झुन्ड तयार पारेर आउने धेरै कार्यकर्तालाई कार्यकर्तामा नभिजेको आरोपका साथ बगाउने खतरा पनि उत्तिकै छ । सम्मेलनहरू नजिकिएका छन् ती सम्मेलनहरूले सचित्र प्रस्तुत गर्ने नै छ । ललितपुरको भूगोलको एक भेलामा आइते र मौलिकको बीचको प्रसङ्ग उठ्नु र त्यहाँ नेताहरूले दिएको जवाफले यही चित्र देखाउँछ ।
किन फेरियो त गठबन्धन ?
प्रकाश–प्रचण्ड गठबन्धन फेरिनुमा यसबेला अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको हात रहेको चर्चा छ । प्रचण्डलाई विचारमा अस्थिरताको नाम दिने गरिन्छ । कुनै समय राष्ट्रिय स्वाधीनताको नाम दिएर आन्दोलनको हुरी ल्याउने उद्घोष गरे पनि पछिल्ला दिनमा उनको विचारको प्रवाह बिस्तारै दक्षिणतिर बहन थालेको अनुभूति गर्न सकिन्छ । दक्षिणतिरको प्रभाव र दबाबमा बिप्पाको विरोध गर्दै हिँड्ने प्रकाश र उनको गुटलाई पन्छाउने योजनाले एकातिर दक्षिण खुसी हुने र अर्कोतिर किरणलाई नजिक ल्याउने मौका मिल्नेछ । दक्षिणको छिमेकीलाई खुसी पार्ने मौकाका साथ प्रचण्डले आफ्नो भावी दिनलाई सुरक्षित राख्न यसबेला बाबुरामसँग गठबन्धन गर्न जरुरी छ र महाधिवेशन त्यतै फर्किएको छ । देशव्यापी रूपमै यसबेला बाबुराम बद्नाम हुँदै गएको अवस्थामा बाबुराम जनताको नजरबाट पर झर्दै गएको विद्यमान अवस्थाबाट फाइदा लिएर प्रचण्ड बढी लोकप्रिय र भारतसँग विश्वास आर्जन गर्ने मौकामा रहेको देखिँदै छ । यदि महाधिवेशनमा प्रकाशहरू (केही नेतालाई च्यापेर कतै कार्यकर्तालाई मात्र फ्याँक्न सके नेताको हैसियत पनि रहँदैन) धेरै मात्रामा फ्याँकिए वैद्यसँगको प्रचण्डको दूरी पनि कम हुन जान्छ । त्यसो भए कुनै समयमा फेरि किरणसँग एकताको सम्भावना पनि त्यत्तिकै छ । प्रकाशको अपदस्ततासँगै दक्षिणतिरसँग सम्बन्ध प्रगाढ हुन जान्छ र त्यसपछि वैद्यको अवरोधको बाटोमा आएका बाबुराम पनि दूधको झिंगा हुन समय लाग्ने छैन ।
सम्भावना
महाधिवेशनले बाबुरामको विचार स्थापित गर्छ । यो महाधिवेशन बाबुराम–प्रचण्ड गठबन्धनमा केन्द्रित रहन्छ । प्रकाशहरू र अन्य दलबाट एकताको नाममा आएकाहरू यस महाधिवेशनबाट बढारिने सम्भावना ज्यादै प्रबल छ । त्यसपछि किरणहरूसँगको प्रचण्डको एकता नजिकिने र त्यो एकताले माटो मशालको एकीकृत चित्र खिच्नेछ । यदि त्यस्तो भएमा त्यसपछि बढारिने पालो बाबुरामजीहरूको आउला । एकीकृत माओवादी अन्य दलहरूसँगको एकताको सवालमा सङ्कीर्ण भावमा उभिने दृश्य देखिँदै गरेको छ । अब त्यो भविष्यले देखाउनेछ ।
(लेखक एनेकपा माओवादीका नेवा: राज्य समिति सदस्य हुन्)
प्रतिक्रिया