तीनवटा प्रदेशमा मुख्यमन्त्री छान्न वाम गठबन्धनलाई हम्मेहम्मे

तीनवटा प्रदेशमा मुख्यमन्त्री छान्न वाम गठबन्धनलाई हम्मेहम्मे


तीन वटा प्रदेशमा मुख्यमन्त्री छान्न वाम गठबन्धनलाई हम्मेहम्मे परेको छ । वाम गठबन्धनको सरकार बन्ने ६ वटा प्रदेशमध्ये तीनवटामा मुख्यमन्त्रीको नाममा सर्वसम्मति भएपनि बाँकी तीनवटामा भने सकस परेको हो । यी प्रदेशमा मुख्यमन्त्रीका निम्ति चुनाव नै गर्नुपर्ने स्थिति देखिएको छ ।

प्रदेश १, ३ र ४ मा भने दलको नेता छान्न चुनाव नै गर्नुपर्ने अवस्था आएको छ । त्यसैले सम्बन्धित प्रदेशको संसदीय दलको बैठक आउँदो २६ गते बस्ने भएको छ ।

त्यो बैठकबाट मुख्यमन्त्रीसमेत हुने गरी संसदीय दलको नेता चयन गर्ने तयारी एमालेको छ । एमाले स्रोतका अनुसार सर्वसम्मतिको प्रयास सफल नभए चुनाव नै गरिनेछ ।

प्रदेश संसदीय दलको बैठक बस्नुअघि केन्द्रमा नेताहरूले एकपटक अन्तिम प्रयास गर्नेछन् । तर सहमती जुट्ने छाटकाट देखिन्न । प्रदेश १ मा एमालेका केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य शेरधन राईबीच कुरा मिल्न सकेको छैन । आचार्य प्रदेश संयोजक र राई प्रदेश सहसंयोजक हुन् ।

अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले पनि यस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छन् । एमालेमा आकांक्षीलाई मिलाउन नसक्ने अवस्था आएकाले चुनावबाटै छिनोफानो गर्नुपर्ने स्थिति आएको हो ।

प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे मुख्य दाबेदार छन् । एकले अर्कालाई छोड्ने स्थिति नरहेकाले त्यहाँ पनि चुनाव हुने अवस्था आएको छ । शाक्य वाम गठबन्धनभित्रकै मुख्यमन्त्रीका लागि एक्ली महिला प्रतिस्पर्धी हुन । पार्टीमा वरिष्ठ र प्रदेश संयोजकसमेत भएकाले उनले आफ्नो दाबी छाडेकी छैनन् ।

त्यस्तै प्रदेश ४ मा केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ आकांक्षी छन् । उनीहरू पनि एकअर्कालाई छोड्ने मनस्थितिमा नरहेकाले त्यहाँ पनि चुनाव हुने स्थिति देखिएको छ ।
यता, माओवादी केन्द्रको भागमा परेका प्रदेश ६ र ७ मा प्रादेशिक कमिटीले मुख्यमन्त्रीको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्टको नाम सिफारिस भएको हो ।

प्रादेशिक कमिटीबाट सिफारिस नामलाई केन्द्रले अनुमोदन गर्नेछ । प्रदेश ६ मा नरेश भण्डारी र प्रदेश ७ मा वीरमान चौधरीले पनि आकांक्षा राखेका थिए । तर केन्द्रीय नेताहरूले सहमति गराएपछि भण्डारी र चौधरी पछि हटेका हुन ।

एमालेको भागमा परेका प्रदेश १, ३, ४ र ५ मध्ये एउटामा मात्र सर्वसम्मति भएको छ । प्रदेश ५ मा स्थायी समिति सदस्य शंकर पोखरेललाई एमालेले प्रदेशसभाको पहिलो बैठक बसेकै दिन संसदीय दलको नेता चयन गरिसकेको छ ।

चुनावअघि नै मुख्यमन्त्रीका रूपमा वाम गठबन्धनले पोखरेलको नाम अघि सारेको थियो, त्यहाँ अन्य आकांक्षी नै थिएनन् । यसले पनि मुख्यमन्त्री चयन गर्न सजिलो भएको छ ।