निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन दलहरुलाई आजै पत्राचार गर्ने जनाएको छ । दिउँसो ३ बजेतिर दलहरुलाई पत्राचार गर्ने तयारी भइरहेको छ ।
बुधबार राष्ट्रियसभा चुनाव सम्पन्न भएर नतिजा आइसकेकाले प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजनिक गर्न आयोगले दलहरुलाई पत्राचार गर्न लागेको हो ।
आयोगले यसअघि समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी दलहरूले तीन दिनमा नाम सिफारिस गर्नुपर्ने र बिग्रिएमा दुई दिनमा सच्याउनुपर्ने प्रावधान गरेको थियो ।
प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपति समक्ष पेश गर्ने पनि आयोग बताएको छ ।
यसैबीच, आयोगले प्रतिनिधिसभामा कुन दलले कति सिट पाए भन्ने नबताए पनि दलहरुले पाएको मत सार्वजनिक गरिसकेको छ । त्यस आधारमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरम राजपाले ६/६ सिट संघीय संसदमा पाउनेछन् ।
प्रतिक्रिया