प्रथम ब्याजका ‘ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी’ कार्की सम्मानित

प्रथम ब्याजका ‘ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी’ कार्की सम्मानित


– श्रीविक्रम भण्डारी

नेपालका प्रथम ब्याजका ब्ल्याकबेल्ट राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक धर्मेन्द्र कार्की सम्मानित भएका छन् । कार्कीलाई राष्ट्रिय तेक्वान्दो संघ–नेपालले ‘६ डान’ प्रदान गरेर सम्मानित गरेको हो ।

नेपालमा तेक्वान्दो खेलको विकास र विस्तारको लागि कार्कीले खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै राष्ट्रिय तेक्वान्दो संघले कार्कीलाई सम्मानित गरेको हो । कार्कीलाई ‘६ डान’ को प्रमाणपत्र संघका अध्यक्ष शिव कोईराला (ज्वाला) ले प्रदान गरेका थिए ।

सो अवसरमा संघका उपाध्यक्ष तथा पूर्व तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुव गुरुङ, उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक एकनाथ थापा, महासचिव राजकुमार कार्की, सचिव राकेस श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक अम्मरबहादुर राई, आर्मीका पाचौं व्याजका खेलाडी तथा प्रशिक्षक रघुनाथ श्रेष्ठ र राखेप कानुन शाखाका प्रमुख नारायणराज अर्यालको उपस्थिति रहेको थियो ।

२०३९ सालदेखि तेक्वान्दो खेल्न थालेका कार्कीले त्यसपछि नेपाली सेनामा तेक्वान्दोको प्रशिक्षण र प्रशिक्षकरुपमा कार्य गर्नु भएको थियो । २०४४ सालमा राष्ट्रिय खेलकुद परिषदमा तेक्वान्दो प्रशिक्षकमा नियुक्ति भएका कार्की २०५३ सालसम्म परिषदमा प्रशिक्षक थिए ।

काम व्यवहारले हङकङतर्फ लागेका कार्की त्यसपछि १२ बर्ष अमेरिका बसेका थिए । अमेरिकाको बसाईको क्रममा ब्रेनहेमरेज भएपछि सात महिनाको जटिल उपचारपछि उनी उनको स्वास्थ्यमा सुधार आएको थियो । मृत्युलाई जितेर स्वदेश फर्किएका कार्कीको अवस्था अहिले सामान्य भएपनि शरिरको आधा भागमा प्यारालाइसिसको प्रभाव देखिएको छ । उनी सामान्य हिडडुल र बोल्नसक्ने अवस्थामा छन् । पत्नी रीता कार्कीले पहिले मुख र शरिर बाङ्गो थियो अहिले त्यसमा निकै सुधार आएको बताइन् ।

‘६ डान’ वाट सम्मानित भएपछि कार्की निकै प्रसन्न थिए । सो अवसरमा कार्कीले आफुले तेक्वान्दो खेलमा गरेको लगानीको फल पाएको प्रतिक्रिया दिएका थिए । त्यसको लागि राष्ट्रिय तेक्वान्दो संघलाई धन्यवाद दिदै राजनीतिवाट टाढै बसेर तेक्वान्दोको समग्र विकास र विस्तारमा लाग्न सल्लाह दिएका थिए । आफुले रोपेको तेक्वान्दोरुपी विरुवा आज नेपाल अधिराज्यभरि ढकमक्क भएकोमा खुशी प्रकट गर्दै त्यसको स्याहार र संभारको जिम्मेवारीपूर्ण भूमिका निभाउन संघका पदाधिकारीलाई अनुरोध गरेका थिए ।

त्यस्तै सो अवसर राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिब कोईरालाले तेक्वान्दोका स्थापनाकालका हस्तीलाई भेटन र सम्मानित गर्न पाउँदा गर्व लागेको बताउँदै तेक्वान्दोको इतिहासलाई बर्तमानमा पनि सुनौलो बनाउनेतर्फ आफुहरु लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए ।