– रेजिना गौतम
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काङ्ग्रेसमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ । पार्टी प्रवक्ता भएपछि आज पहिलो पटक विर्तामोड (झापा)मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले आफूलाई बदल्न नसक्नेहरू पार्टीबाट बिदा हुने उल्लेख गर्दै बदलिनेले मात्र पार्टीको नेतृत्व गर्ने धारणा राख्नुभयो ।
काङ्ग्रेस रुपान्तरणमा जोड दिनुभएका शर्माले भन्नुभयो, ‘काङ्ग्रेस बदल्छौँ, बदलिनेले नेतृत्व लिन्छ, नबदलिने बिदा लिन्छ ।’ काङ्ग्रेस महासमितिको बैठकले नयाँ नीति र कार्यक्रम ल्याएर काङ्ग्रेसलाई नयाँ ढंगले अघि बढाउने बताउँदै परिवर्तनका लागि आजैदेखि झापासहित प्रदेश नम्बर १ मा अभियान सुरु भएको शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले संसदीय प्रतिष्पर्धाको पाटो अन्त्य भएको बताउँदै आगामी पाँच वर्षका लागि काङ्ग्रेस रुपान्तरणमा लाग्ने उल्लेख गर्नुभयो । उहाँले जनभावना अनुसार एउटै घोषणापत्र बनाएर निर्वाचनमा गएका एमाले–माओवादी एक भएर अघि बढ्नु राम्रो हुने धारणा राख्नुभयो ।
भावी प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि अग्रिम शुभकामना दिँदै शर्माले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण कूटनीतिक मर्यादा विपरीत भएको तर्क अघि सार्नुभयो । सरकारलाई थाहा नदिई पार्टीको निम्तामा हुने यस्ता भ्रमणले राष्ट्रलाई कमजोर बनाउने भन्दै उहाँले एमालेप्रति कटाक्ष गर्नुभयो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाइँको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस झापाका सभापति उद्धव थापा, देउमान थेवे, प्रेम सम्बाहाम्फे लगायतको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन राजेन्द्र गौतमले गर्नुभएको थियो ।
प्रतिक्रिया