एमाले–माओवादी संयोजन समितिको बैठक बस्दै

एमाले–माओवादी संयोजन समितिको बैठक बस्दै


एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रबारका लागि बोलाइएको छ । पार्टी एकता प्रक्रिया संकटमा परेको आशंका हुन थालेका बेला संयोजन समितिको बैठक बोलाइएको हो ।

संयोजन समितिका एक सदस्यका अनुसरा बैठकमा सरकार गठन, पदीय भागवण्डा लगायत पार्टी एकताका विषयमा बुहत छलफल हुनेछ । बिहीबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा भएका छलफलका बारेमा समेत समितिमा जानकारी गराइने बुझिएको छ ।

सरकार गठनको पदीय भागवण्डामा सहमति जुटाएका दुई दल पार्टी एकतामा भने समस्यामा परेका छन् । अध्यक्ष माओवादीलाई दिने वा नदिने भन्नेमा एमालेभित्र सहमति जुट्न नसक्दा एकता प्रक्रियामा समस्या देखिएको नेताहरुले बताएका छन् ।

एमाले स्रोतका अनुसार शुक्रबार बस्ने पार्टी एकता संयोजन समितिले सरकार गठन र पार्टी एकताका विषयलाई गम्भिर रुपमा छलफल गरी अघि बढ्ने बताइएको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण प्रक्रियाले मूर्तरुप लिन नसक्दा नयाँ सरकार कस्तो र कसको नेतृत्वमा गठन हुन्छ भन्ने अझै अनिश्चित छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढेका दुई दल एकीकरणसहित सत्ता साझेदारीमा सहमत भए फागुन दोस्रो सातासम्म एमाले अध्यक्ष केपी ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्नेछन् ।

संविधानको धारा ७६ मा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा (१) अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

तर, प्रतिनिधिसभातर्फ कुनै पनि दलले स्पस्ट बहुमत ल्याएका छैनन् । प्रत्यक्षतर्फ ८० क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको एमाले र ३६ सिट जितेको माओवादी केन्द्रबीच अन्तिम परिणाम सार्वजनिक हुनुअघि नै पार्टी एकता भए उनीहरुको प्रत्यक्ष र समानुपातिक गरी झन्डै दुईतिहाइ नजिक १ सय ७४ पुग्नेछ ।

एमालेले माओवादी केन्द्रलाई लिएर वा माओवादीको समर्थनमा एमाले सरकार बनाउने, फोरमसहितका दलहरुको समर्थनमा एमालेले सरकार बनाउने वा एमाले समर्थनमा फोरमले सरकार बनाउने, एमालेबाहेकका समर्थनमा माओवादीले सरकार बनाउने वा ठूलो दलको हैसियतमा एमालेको अल्पमतको सरकार बन्ने धेरै विकल्पहरु अगाडि खडा भएका छन् ।