एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने भएको छ ।
दुईपार्टी एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने सहमती भैइसकेको नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका हुन् ।
उनले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहने जिकिर गरे ।
‘२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी थियो । त्यसपछि उक्त पार्टी फुटेर नेकपाको पछाडि माले, मसाल, मशाल, एकता केन्द्र, एमाले हुँदै माओवादी केन्द्रलगायतका नामको पुच्छर झुण्डिएको छ’, टीकापुरमा भएको एक कर्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने,‘अब ती झुण्डिएका पुच्छर हटाएर एउटै नाम नेपाल कम्युनिष्ट पार्टी बन्नेछ । यसमा सहमती भइसकेको छ ।’
उनले आफूहरु र जनताले पनि एउटै कम्युनिष्ट पार्टी कहिले बन्ला भनेर प्रतीक्षारत रहेको बताए । उनले धेरै पार्टी हुनुभन्दा एउटै पार्टी बनेपछि जनतालाई पनि आफ्ना कुरा राख्न सजिलो हुने धारणा राखे । नेता नेपालले दुई पार्टीबीच एकताको प्रयास भइरहेको बन्दै अहिले सैद्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताए । ‘कस्तो विचार लिएर पार्टी एकता गर्ने र कस्तो संरचना बनाउने भन्नेमा अहिले छलफल जारी छ’ उनले भने,‘पार्टी एकतापछि एमाले र माओवादीसँग भावनात्मकरुपमा कसरी जोड्ने भन्ने प्रयासमा रहेका छौँ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेताको योग्यता र त्याग, अनुसार नै पार्टी एकतापछि उचित मूल्यांकन भएर जिम्मेवारी दिने बताए । उनले कसलाई कुनकुन ठाउँमा राख्ने भन्नेमा पनि छलफल भइरहेको बताए ।
दुई पार्टीबीचको एकतालाई देशी विदेशी शक्ति भाँड्ने प्रयासमा लागेको भन्दै त्यसतर्फ सतर्कता अपनाउनुपर्ने उनको भनाइ रहेको थियो ।
उनले वाम गठबन्धनप्रति जनताको ठूलो आशा र भरोसा भएकाले चाँडै नै एकतासँगै सरकार गठन गरेर त्यो आशा र भरोसालाई पूरा गर्ने बताए ।
प्रतिक्रिया