कांग्रेस बैठक : मौन धारणबाट शुरु, समवेदना दिँदै अन्त्य

कांग्रेस बैठक : मौन धारणबाट शुरु, समवेदना दिँदै अन्त्य


आकस्मिक रुपमा आज बसेको नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक उल्लेख्य निर्णयविनै टुंग्याइएको छ । सरकारको नेतृत्व गरिरहेको दलको बैठकले गर्ने निर्णयको विशेष चासोका साथ प्रतीक्षा गरिएको थियो ।

तर, सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको बैठककको आरम्भमा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । निष्ठावान्, सादगी र संविधान जारी गर्ने अभियानका नेतृत्वकर्ताको रुपमा दिवंगत कोइरालालाई उहाँको तेस्रो पुण्यतिथि भन्दै स्मरण गरिएको गर्दै कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

बैठकले ‘नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४’ सुझावसहित सर्वसम्मत रुपमा पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । उक्त विधानको मस्यौदा तयार गर्न पार्टीले केही दिनअघि केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको संयोजकत्वमा मुख्य सचिव पौडेल र सचिव केशव रिजाल सदस्य रहेको समिति गठन गरेको थियो ।

यसैगरी बैठकले पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि वामदेव खनालका पुत्र एवं कांग्रेसका क्रियाशील सदस्य माधव खनालको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

तस्बिर रासस