प्रदेश २ मा यस्तो सहमति : मूख्यमन्त्री फोरमलाई, राजपालाई तीन मन्त्रालयसहित सभामुख

प्रदेश २ मा यस्तो सहमति : मूख्यमन्त्री फोरमलाई, राजपालाई तीन मन्त्रालयसहित सभामुख


अन्ततः प्रदेश नम्बर २ मा राजपा र फोरमबीच सहमति भएको छ । दुई पार्टीबीच सहमति भएसँगै कसले कुन जिम्मेवारी पाउने भन्ने विषय टुङ्गिएको हो । यसले अब २ नं मा संघीय समाजवादी फोरम र राजपाबीच संयुक्त सरकार बन्नेछ ।

सहमति भएअनुरुप २९ सांसद रहेको फोरमले मूख्यमन्त्रीसहित उपसभामुख पाउनेछ भने तीन मन्त्रालयको जिम्मेवारीसहित सभामुखको जिम्मेवारी राजपाले पाउने भएका छन् । फोरमको कार्यालय तीनकुनेमा शानिबार भएको वार्तामा दुबै पार्टीलाई फाइदा हुने गरी सहमतिको विन्दु खोजिएको हो ।

सहमति बमोजिम फोरमले उपसभामुखसहित अन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएका छन् भने प्रदेशसभामा २५ सांसद रहेको राजपाले सभामुखसहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ ।

फोरमले संसदीय दलको नेतामा लालबाबु राउत चयन गरिसकेको छ । उनी अब मुख्यमन्त्री हुने पक्का भइसकेको बुझिएको छ । सँगै चुनाव लडेको राजपा र फोरमबीच पछिल्लो समय भागबण्डा भने मिलेको थिएन् । फोरमका एक नेताले भने, ‘अब हामीकहाँ विवाद छैन् । दुबै पार्टी मिलेर ५ बर्षसम्म सरकार चलाइन्छ ।’