बहुप्रतीक्षित वाम नेतृत्वको सरकार गठनको समय छोट्टिँदै छ । अब केही दिनमै एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीका रूपमा सपथ लिनेछन् । एमाले–माओवादी केन्द्रको पार्टी एकता प्रक्रिया अन्योलमा परे पनि बाम गठबन्धनको सरकार र सरकारको नेतृत्व केपी ओलीले गर्नेमा आजका दिनसम्म कुनै शङ्का छैन ।
नाकाबन्दी प्रकरणपछि एकाएक राष्ट्रवादी नेताको छवी निर्माण गरेको केपी शर्मा ओलीबाट मुलुकको विकास र समृद्धिमा पनि ठोस काम हुने अपेक्षा आमतहबाटै गरिएको छ । जनताको यो अपेक्षा र विश्वासलाई दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओलीले कति यथार्थमा बदल्ने हुन्, प्रतीक्षाकै विषय हो ।
पहिलो पटक मुलुकले सङ्घीय राज्यको अभ्याससमेत गर्न लागिरहेकोले ओलीको प्रधानमन्त्रीय यात्रा सहज र सरसयुक्त नरहने अनुमान सहजै गर्न सकिन्छ । तथापि, सातमध्ये चार प्रदेशमा एमालेकै मुख्यमन्त्री रहेको र चारै प्रदेशका मुख्यमन्त्रीमा ओलीका विश्वासपात्रहरू नै छानिन पुगेकाले अवश्य पनि उनलाई केही राहत महसुस गराएको हुन सक्छ ।
झलनाथ र माधव समूहको जोडबलका बावजुद प्रदेश नम्बर १ मा एमालेका भीम आचार्य एमाले संसदीय दलको नेता बन्न सकेनन् । आचार्यलाई दुई मतले पछार्दै युवानेता शेरधन राई संसदीय दलको नेता चयन भए । भोजपुरबाट प्रदेशसभामा चुनिएका राई अध्यक्ष ओलीका अत्यन्त निकट र विश्वासपात्रका रूपमा चिनिन्छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका जुझारु नेता शेरधनले २६ प्रदेशसदस्यको मत पाई संसदीय दलको नेता हुँदै आफूलाई मुख्यमन्त्रीको कुर्सीनजिक पुऱ्याएका छन् ।
यस्तै एमालेको भागमा परेको प्रदेश नम्बर ३ मा पनि ओलीपक्षीय डोरमणि पौडेल एमालेका संसदीय दलको नेता चुनिएका छन् । पौडेलविरुद्ध नेपालपक्षीय अष्ठलक्ष्मी शाक्य उम्मेदवार बनेकी थिइन् । प्रवल दाबेदार मानिएकी शाक्यलाई २४ मत प्राप्त हुँदा पौडेलले ३४ मत हासिल गरेका थिए । डोरमणि पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उता प्रदेश नम्बर ५ मा ओलीका ‘राइट ह्याण्ड’ मानिने शंकर पोखरेल शुरुमै निर्विरोध रूपले संसदीय दलका नेता छानिएका थिए । पोखरेल एमाले अध्यक्ष ओलीका एक खम्बा नै मानिन्छन् ।
यसैगरी, प्रदेश नम्बर ४ एमाले संसदीय दलको नेतामा पनि ओलीपक्षीय पृथ्वी सुब्बा गुरुङ छानिएका छन् । किरण गुरूङले पनि दलका नेतामा दाबी गर्दै आएकोमा आज पार्टी महासचिव इश्वर पोखरेलले पोखरा पुगी गरेको प्रयत्नस्वरुप सहमतिबाटै पृथ्वी सुब्बा प्रदेशसभाको संसदीय दल प्रमुख चयन भएका हुन् । शुरुदेखि नै आफू मुख्यमन्त्री बन्ने दाबी गर्दै आएका पृथ्वीले अन्ततः सहज रुपबाटै प्रदेश नम्बर ४ को भावी मुख्यमन्त्रीमा आफूलाई सुनिश्चित तुल्याएका हुन् ।
यसरी आफ्नो भागमा परेका चारवटै प्रदेशमा आफ्ना विश्वासपात्रहरूलाई मुख्यमन्त्री बनाउने सफलता एमाले अध्यक्ष ओलीलाई मिलेको छ । आफ्नो पकडका प्रदेशमा मात्र विकास–निर्माण तथा उन्नति–प्रगतिका काम गरेर देखाउन सके भने प्रधानमन्त्रीका रूपमा ओलीको शान–मान बढ्ने निश्चित नै छ ।
प्रतिक्रिया