सर्कसमा यौनशोषणको सास्ती—रामहरि त्रिपाठी

सर्कसमा यौनशोषणको सास्ती—रामहरि त्रिपाठी


जीवनको कथा
०५६ को भदौको कुरा हो । सबै बालबालिका स्कुल जाँदैनथे । मेरो उमेर नौ वर्षको थियो । मसमेत अन्य बालबालिका खेलिरहेका थियौँ । एउटा मान्छे हामीबीच आयो । राजीव बस्नेत नाउँ रहेछ उसको । उसले हामीलाई खानेकुराहरू दिँदै कुराकानी गर्न थाल्यो । उसले सर्कसमा गएमा निकै राम्रो हुने र मीठो खान पाउने काल्पनिक कुरा सुनाएर हामीलाई मख्ख पारेको थियो । मेरा हजुरबालाई पनि के–के भनेर फकाएछ । मलाई सर्कसमा पठाउँदा पैसा पनि कमाइ हुने, सबैजनालाई राम्रो हुने भनेपछि मेरो भविष्य पनि राम्रो हुने ठानेर घरका मानिसले हेटौंडासम्म पुर्‍याउन ल्याए । मलाई हेटौंडाबाट बस चढाएर वीरगञ्ज पुर्‍याए । मसँगै अरू दुई बालिकासमेत उसैको साथ थियौँ । उसले घोडागाडा (टाँगा) मा बसाएर अर्को बस स्टेसन पुर्‍यायो ।
यसरी २–३ दिन लगाएर टाँगा र बसमा चढाएर भारतको कानपुरस्थित राजमहल पुर्‍यायो । मसहित राजीवले अरू दुईजना केटीहरूसमेत लगेको थियो । हामीलाई त्यहाँ पुर्‍याएबापत राजीवले कमिसन रकम बुझेर ऊ नेपाल फर्केछ । बीचमा एक–दुईपटक उसलाई सर्कसमा देखेको थिएँ । तर, बोल्न पाइएन । राम्रो खाने–लाउने लोभले सर्कसमा पुगेपछि मेरा दु:खका दिन सुरु भए । सर्कसमालिकले हामीलाई पिटिपिटी जोखिमपूर्ण तालिम गरायो । त्यहाँबाट भाग्न सम्भव पनि थिएन । मेरो कामबापत मासिक रु. ५० पाउँथेँ । जोखिमपूर्ण प्रदर्शन गर्दा बेलाबेलामा साथीहरूको मृत्यु हुने गर्दथ्यो । मेरो पनि एकपटक लडेर खुट्टा भाँचियो । र, धेरै महिना थला परेँ । त्यस्तो बेला मैले घरपरिवारलाई कति सम्झेँ होला तपाईं नै अनुमान गर्न सक्नुहुन्छ ।
जब म किशोरी अवस्थामा प्रवेश गरेँ, मैले सर्कसमालिकको अमानवीय व्यवहारको सिकार बन्नुपर्‍यो । मलाई उद्धार गर्नुपूर्व लगातार दुई वर्षजति त्यस राजमहल सर्कसको मालिक सिरज खानले शारीरिक यौनशोषण गर्दै आएको थियो । उसले जो–कोहीलाई सहजै अपहरण गर्ने तथा मार्ने धम्की दिन्थ्यो । म बेचिएकी चेलीले सर्कसको त्यो घेराभित्र उनीहरूको सिकार बन्नुको कुनै विकल्प नै थिएन ।
विवश जिन्दगी बाँच्दाबाँच्दै ०६५ को असार ७ गते हेटौंडास्थित एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनको निर्देशिका शैलेजा सीएम र उहाँको सहयोगी दिलु तामाङको सक्रिय भूमिकाबाट मलाई सो सर्कसबाट उद्धार गरी नेपाल फर्काइयो र घरसम्म पुर्‍याइदिनुभयो । घर पुगेपछि प्रहरीमा जाहेरी दिएँ । ०६५ असोज २९ गते नेपाल सरकारले राजीवउपर मानव बेचविखन तथा ओसारपसारको मुद्दाको अभियोगपत्र मकवानपुर जिल्ला अदालतमा पेस गर्‍यो । ०६६ मङ्सिर २२ गते अदालतबाट फैसला भयो । फैसला हुँदा राजीवलाई १० वर्ष कैद भयो । तर, मलाई कुनै पनि क्षतिपूर्ति भने अदालतले भराएन । राजीवले भारतमा बिक्री गर्न लाँदा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ लागू रहेको र उक्त ऐनमा क्षतिपूर्तिको व्यवस्था नभएकोले मैले क्षतिपूर्ति पाइनँ । राजीवले सफाइको दाबी गर्दै पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन पेस गरेको रहेछ । त्यहाँबाट पनि उसलाई १० वर्ष नै सजाय भयो । पुन: उसले सर्वोच्च अदालतमा पुनरावेदन पत्र गरेको रहेछ । आज त्यसको फैसला सुन्न सर्वोच्च अदालत आएकी हुँ । गत भदौ ६ गते सर्वोच्च प्राङ्गडमा भेटिएकी उनले भनिन् ।
उनलाई भारतमा लगी बेच्नेलाई सर्वोच्च अदालतले पनि १० वर्ष नै कैदको सजाय गर्‍यो । तर, क्षतिपूर्ति भने ऐनमा व्यवस्था नभएको भनी दिलाएन । फैसला सुनेपछि प्रतिक्रिया माग्दा उनले भनिन्– जिउँदै मानिस बिक्री गर्नेलाई मानिस मार्नेभन्दा दोब्बर सजाय हुनुपर्ने हो, तर के गर्ने यहाँको कानुनै यस्तै छ । क्षतिपूर्तिको व्यवस्था नभएकोमा पनि उनले असन्तुष्टि जनाइन् ।