बुटवल, दाङ र कोहलपुरलाई महानगरपालिका बनाउनुपर्नेमा जोड

बुटवल, दाङ र कोहलपुरलाई महानगरपालिका बनाउनुपर्नेमा जोड


नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समग्र ५ नं प्रदेशलाई नै विकासको दृष्टिले समृद्ध नमूना प्रदेश बनाउने बताएका छन् ।

उनले ५ नंं प्रदेशमा रहेका तीनवटा शहर बुटवल, दाङ, र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरु समेटेर तीनवटा महानगरपालिका बनाउने लक्ष्यका साथ लाग्नुपर्नेमा जोड दिए ।

पश्चिम नेपाल बस व्यवसायी संघको २३ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनको बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले यसक्षेत्रमा संचालित विकासका परियोजनामा कुनै हेलचेक्रयाइँ नगर्न आग्रह गरे । पूर्वाधार निर्माणमा स्रोतको कमी हुन नदिने भन्दै उनले निर्माण आयोजना समयमा नसक्ने र गुणस्तरमा हेलचेक्रयाइँ गर्ने निर्माण कम्पनीलाई कारबाही हुने चेतावनी दिए ।

उनले यातायात क्षेत्र सेवामूलक व्यवसाय भएकाले सर्वसाधारण यात्रुहरुलाई दिने सेवालाई पहिलो जिम्मेवारी सम्झन आग्रह गरे । राससका अनुसार उनले धेरै समस्या र व्यवधानकाबीच यातायात क्षेत्र गुज्रिएकाले समस्या समाधानका लागि नीतिगत प्रबन्ध मिलाउनु जरुरी रहेको बताए ।

सो अवसरमा नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल, संघका पूर्वअध्यक्ष सूर्यबहादुर भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष निरु गौतमलगायतले यातायात व्यवसायलाई मर्या्दित बनाउन व्यवसायीलाई सुझाव दिए ।

कार्यक्रममा संघमा आबद्ध व्यवसायीका छोराछोरीमध्ये लुम्बिनी अञ्चलका सबै जिल्लाबाट एसइई परीक्षा–२०७३ मा उत्कृष्ट हुने एकएक जना छात्रछात्रालाई जनही नगद रु १० हजार तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरी, वर्षभरि अनुशासितरुपमा सवारी साधन सञ्चालन गर्ने र दुर्घटना नगर्ने सवारी चालकलाई पनि पुरस्कृत गरिएको थियो । यसैबीच, पश्चिम नेपाल बस व्यवसायी संघले समाचारको माध्यमबाट यातायात क्षेत्रको सुधार, विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार विष्णु घिमिरेलाई सम्मान गरेको छ ।

लामो समयदेखि बुटवललाई कार्यथलो बनाई पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार घिमिरेलाई नगद रु १० हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।