माओवादीले ज्यान लिन खोजेकै ब्यक्तिको घरमा प्रचण्ड-ओलीको ‘गोप्य वार्ता’ !

माओवादीले ज्यान लिन खोजेकै ब्यक्तिको घरमा प्रचण्ड-ओलीको ‘गोप्य वार्ता’ !


कुनै समय माओवादीले ज्यान लिने निर्णय गरेका ब्यक्तिकै घरमा बसेर माओवादी–एमालेका उच्च नेताले ‘एकता’को निर्णयक वार्तालाप गरेको जानकारीमा आएको छ ।

ललितपुर मानभवन स्थित ठेकेदार शारदा अधिकारीको ‘दरबारमा’ बसेर प्रचण्ड र केपी ओलीले निर्णयक वार्ता गरेका हुन् ।

पछिल्लो समय ओली र प्रचण्डबीच हुने गरेको वार्ता कहिले बालकोटमा त कहिले दाहालनिवासमा हुनेगथ्यो ।

तर आज उनीहरुबीच भएको गोप्य वार्ता अधिकारीको दरबारमा भएको हो ।  पछिल्लो समय एकीकरणमा देखिएको दुविधालाई मेटाउन ओली–प्रचण्ड अधिकारीको घरमा आज गोप्य वार्ता गरेको जानकारी प्राप्त भएको छ ।

सरकार गठनअघि पार्टी एकताको विषय टुंगो लगाउन दुई नेता छलफल भैइरहेको समाचार स्रोत बताउँछ । प्रचण्डले पार्टी एकतासम्बन्धी विषय छिटो टुंगो लगाउन एमालेलाई दबाब दिँदै आएका छन् ।

स्रोतका अनुसार अघिल्लो बैठकमा प्रचण्डले आफूलाई पार्टी अध्यक्ष नदिए पार्टी एकता नगर्न आफूलाई दबाब आएको बताएका थिए । सोही कुरा एमाले अध्यक्ष केपी ओलीले आइतबारको स्थायी कमिटी बैठकमा समेत सुनाएका थिए ।

तर, प्रचण्डलाई अध्यक्ष नदिन ओलीलाई पनि पार्टी नेताहरुले दबाब दिँदै आएका छन् । जसकारण एकताको प्रक्रियामा विलम्ब भइरहेको छ ।

नुवाकोट तुप्चेका अधिकारीले द्वन्द्वकालमा माओवादीका नाममा चन्दा उठाएर खाएको आरोपमा माओवादीले निजलाई सफाया गर्ने निर्णय गरेको थियो । कृष्णध्वज खड्का नेतृत्वको कमिटीले गरेको उक्त निर्णय माओवादीकै अर्का नेताको पहलमा निष्कृय पारिएको थियो ।

त्यसबेला जन वर्गीय संगठन र जनपरिचालन प्रमुख रहेका मोहन कार्की जीवन्तले पार्टी निर्णयलाई निष्कृय तुल्याएर शारदा अधिकारीको ज्यान जोगाइदिएका थिए । तर अधिकारीले भने आफूले लुकेर ज्यान जोगाएको ठानेका छन् ।