पार्टी एकतालाई निश्कर्षमा पुऱ्याउने भन्दै आज मानभवनमा बसेको ओली–प्रचण्ड बैठक विना निश्कर्ष टुङ्गिएको छ । हिजो चितवनबाट काठमाडौं प्रस्थान गर्नुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘अब ठोस निचोड निस्कने’ प्रतिक्रिया दिएका र अस्तिका दिन उनै प्रचण्डले ‘आवश्यक परे आफू फड्को मार्न तयार’ भन्ने अभिव्यक्ति दिएबाट एमाले अध्यक्ष ओली झस्किएकाले आजको वार्ताले सकारात्मक मोड लिने अपेक्षा गरिएको थियो । तर, एकतापछिको अध्यक्ष पद प्रचण्डलाई सुम्पन ओली तयार नभएका र प्रधानमन्त्रीको कुर्सी ओलीलाई सुम्पिन आफू तयार भएकोले अध्यक्ष पद पाउनुपर्ने अडान प्रचण्डले पनि नछोडेपछि आज पनि वार्ताले निकास दिन नसकेको सम्बद्ध सुत्रले जनाएको छ ।
बताइएअनुसार प्रचण्डलाई आज जसरी पनि फकाउने सोचका साथ ओली उनसँग वार्ता गर्न पुगेका थिए । तर, प्रचण्ड आफूलाई अध्यक्ष नदिए ‘साथीहरूले नमान्ने’ तर्क अघिसारेर टसको मस भएनन् । निकै प्रयत्न गर्दा पनि सुनुवाई नहुने बुझेपछि विनानिश्कर्ष ओली वार्तास्थलबाट फर्किएका हुन् ।
यसरी शीर्षनेताहरू बीचको वार्ता नमिलेसँगै एकता संयोजन समितिको बैठक पनि स्थगित भएको बुझिएको छ । यस प्रकरणले एमाले–माओवादी एकता झन् दुरुह बन्ने देखिएको छ ।
प्रतिक्रिया