जब बीएण्डबीका सुरक्षा गार्डले सेवाग्राहीमाथि दुर्व्यवहार गरे

जब बीएण्डबीका सुरक्षा गार्डले सेवाग्राहीमाथि दुर्व्यवहार गरे


ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा स्वास्थ्यपरीक्षण या उपचारको लागि जाँदै हुनुहुन्छ र तपाईंसँग नीजि सवारीसाधन पनि छ भने सतर्कता अपनाएर मात्र अस्पताल परिसर प्रवेश गर्नुहोला, तपाईं बीएण्डबीका ‘गार्ड’बाट दुर्व्यवहारको शिकार बन्न सक्नुहुन्छ । गत शुक्रबार सो अस्पताल–प्राङ्गणमा उभिएका गार्डको व्यवहारले यस्तो प्रतिक्रिया दिन बाध्य तुल्याएको छ ।

उक्त दिन एक सेवाग्राही आफ्नो बिरामी लिएर बीएण्डबी पुगे । अस्पताल प्राङ्गणमा खाली रहेको एक कुनामा गाडी रोकेर बिरामी ओराल्न लाग्दा त्यहाँका गार्ड आकाशै खसेर विपत्ति निम्तिन लागेजस्तो गरी गाडीवाला सेवाग्राहीतर्फ झम्टिन पुगे । त्यहाँ कुनै पनि हालतमा एकैछिनका लागि पनि गाडी अड्याउन नमिल्ने उनको जिकीर थियो ।

सेवाग्राहीले ‘खाली स्थान भएकोले अरुलाई अप्ठ्यारो नपर्ने गरी एकछिन रोक्न दिनुहोस न’ भनी अनुरोध गरे, तर गार्डले पटक्कै सुनुवाई गरेनन् । उल्टै, ‘भन्नेवित्तिकै गाडी नहटाएको’ भन्दै ती गार्ड तल्लो स्तरमा ओर्लिएर मुख छाड्दै सेवाग्राहीलाई गाली गर्न लागे– ‘जे सक्छस् गर्, तैँले सकेको गर, तेरो पहुँचले भ्याएजति गर्, हामी पनि हेरौँला ।’ यसरी गार्डले अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राहीलाई तथानाम मुख छोडेको देखेर उपस्थित सबै चकित परे । बीएण्डबीले आफ्ना कर्मचारीलाई कस्तो कर्तव्य सिकाएको रहेछ भन्दै सबै आश्चर्य प्रकट गर्न थाले ।

घटना सुखद थिएन, तर ‘रोचक’ मोड लिएपछि पीडित सेवाग्राहीलाई पछ्याइयो । गार्डले गरेको दुर्व्यवहारबाट सेवाग्राही दुखित बनेका थिए । सायद गुनासो गर्ने निकायको खोजीमा उनी ओपीडी टिकट काउन्टरनजिकैको रिसेप्सनमा पुगेर उजुरी (गुनासो) गर्ने ठाउँबारे सोधे । रिसेप्सनिस्टले प्रशासनमा जान निर्देश गरेपछि उनी प्रशासन शाखा पुगे । प्रशासन शाखाको ढोका बन्द देखेपछि पुनः रिसेप्सनमै फर्किए । त्यसपछि उनलाई ‘उजुरीपेटिकामा गुनासो हाल्न’ या ‘आइतबार आउन’ सुझाव दिइयो । अस्पतालका कर्मचारीहरूको व्यवहारबाट सेवाग्रहीको अनुहारमा निराशाको भाव उर्लिएको प्रष्टै देखिन्थ्यो ।

बीएण्डबी अस्पताल सरकारी होइन, सेवासँगै धन आर्जन गर्ने उद्देश्यले खोलिएको प्राइभेट हस्पिटल हो । आजको प्रतिष्पर्धात्मक परिवेशमा अर्कोको भन्दा ज्यादा सेवा–सुविधा कसरी दिने, अस्पतालको कम्पाउण्ड प्रवेशदेखि नै सेवाग्राहीसँग सुमधुर व्यवहार गरेर मन कसरी जित्ने ? भन्नेमा हरेकले आफूलाई केन्द्रित गर्नुपर्ने हो । तर, अस्पताल जस्तो ठाउँमा सेवाग्राहीले उल्टै मानसिक तनाव झेल्नुपर्ने हो भने त्यस्तो अस्पतालबाट जनताले कस्तो सेवाको अपेक्षा गर्ने, सोचनीय सवाल पैदा भएको छ ।

– हेमराज लम्साल