मुख्यमन्त्री पौडेलको प्राथमिकता : १३ जिल्लामा नमुना शहर

मुख्यमन्त्री पौडेलको प्राथमिकता : १३ जिल्लामा नमुना शहर


आज  प्रदेश नं ३ का नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले पदबहाली गरेका छन् । पदबहालीपछि आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को सन्तुलित विकासका लागि सीमित स्रोत साधन परिचालन गरी १३ वटा जिल्लामा नमुना शहर बनाउनु आफ्नो प्राथमिकता रहेको बताए ।

उनले प्रदेश सरकारको काम अगाडि बढाउन आवश्यक कानुन निर्माण तथा परिमार्जन गर्ने बताएका छन् । मुख्यमन्त्री पौडेलले राष्ट्रसेवकले ऐन कानुनको परिधिभित्र रहेर जनमुखी सेवा प्रवाह गर्न र आर्थिक अनुशासन कायम राख्न आग्रह गरे ।

हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा गई उनले सहिदप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरे । त्यस अवसरमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पनि सहिद स्मारकमा पुष्पगुच्छा चढाएका थिए ।