करिब ८० प्रतिशत जनताको रोजगारीको स्रोत र जीविकोपार्जनको प्रमुख आधारको रूपमा रहेको नेपाली अर्थतन्त्रको कृषिक्षेत्रमा अहम् भूमिका रहेको छ । नेपालीको खाद्यान्न उपलब्ध हुने साथै राष्ट्रिय आयको प्रमुख स्रोतको रूपमा रहेको कृषिबाटै नेपालीका आधारभूत आवश्यकता पूर्ति हुने गर्दछ । कृषिक्षेत्रको विकाससँगै नेपालमा कृषिजन्य उद्योग खुल्ने क्रम बढेसँगै राजस्व तथा विभिन्न किसिमका करहरूको माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि क्षेत्र पनि सरकारी आम्दानीको प्रमुख स्रोतको रूपमा रहेको छ । कृषि क्षेत्रमा उत्पादन बढाउन प्रविधि तथा विषादीहरूको प्रयोग बढेसँगै यसले मानिसको स्वास्थ्यमा समेत नराम्रो असर पारिरहेको छ ।
कृषिक्षेत्र लाखौँ नेपाली जनताको जीविकोपार्जनको प्रमुख आधार भए पनि यस क्षेत्रमा पर्याप्त सरकारी तथा गैरसरकारी लगानी हुन नसक्नु, विश्वजगत्मा कृषिसँग सम्बन्धित अत्याधुनिक प्रविधि नभित्याइनु, परम्परागत रूपले खेतीकार्य गर्दै आएका कृषकलाई आवश्यक पर्ने बीउविजन र मलखादको व्यवस्था नहुनु र आवश्यक तालिम तथा प्राविधिक ज्ञान सबैमा पुर्याउन नसक्नु, कृषि क्षेत्रमा भएको द्वैध स्वामित्व र वास्तविक किसानको हातमा वैधानिक कागजपत्र नहुनु, सक्षम र सबल मानवीय शक्ति रोजगारीको निमित्त विदेश पलायन हुनु, कृषि क्षेत्रका कृषकलाई सङ्गठित गरी आफ्नो पेसाप्रति इमानदारीपूर्वक गर्न सक्ने वातावरण बनाउन नसक्नु, युवा वर्ग अध्ययन र रोजगारीको निमित्त सहर प्रस्थान गर्नु तर पछि त्यहीँ नै आफ्नो स्थायी बसोबास गर्नु, प्राकृतिक प्रकोपहरूको भय, घाटामुखी कृषि पेसा, महङ्गो जनशक्ति, अतिवृष्टि, अनावृष्टि, कृषिविज्ञानमा अध्ययन गर्न चाहने विद्यार्थीलाई नेपालमा आकर्षित गर्न सक्ने कार्यहरूको निर्माण नहुनु, टुक्रे खेती–प्रणाली, आपसी सहकार्य गर्न सक्ने र सद्भावको कमी, पूर्वाधारहरूको विकास र विस्तार हुन नसक्नु, कृषिमा लगानीको निम्ति आवश्यक बिनाधितो तथा सहुलियत ऋणको व्यवस्था गर्न नसक्नु, क्षेत्रीय असन्तुलन कम गरी विकेन्द्रीकरणलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरू सार्वजनिक गर्न नसक्नु साथै अझै पनि ग्रामीण क्षेत्रमा यातायात तथा बजारको असुविधा हुनु नेपालको कृषि क्षेत्रमा देखिएका समस्याहरू हुन् ।
नेपालमा पछिल्लो समयमा बैंकहरू सञ्चालन गर्दा ग्रामीण क्षेत्रमा लगानी गरी उपत्यकामा भित्रिन पाउने निर्णयले गर्दा पनि बाध्यतापूर्वक यस क्षेत्रमा बैंकहरूले लगानी गरिरहेकै छन् । कृषि विकास बैंक, विभिन्न सहकारी संस्थाहरू, गरिबी निवारण कोषलगायतका सङ्घसंस्थाहरूले पनि पछिल्लो समयमा ग्रामीणस्तरका किसानलाई विविध सहयोगहरू गरिरहेका छन् । घरेलु तथा साना उद्योग विकास समितिमातहतका विभिन्न निकायले यस क्षेत्रमा केही मानिसलाई समयसमयमा आवश्यक तालिमहरू प्रदान गर्ने, छलफल र अन्तरक्रियात्मक कार्यहरू पनि गर्दै आएका छन् । केही वर्ष पहिले बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला घोषणा गरिएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमले पनि विभिन्न जिल्लाका किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराएको छ । कृषि क्षेत्रको विकासको निम्ति नेपाल सरकारको सहयोगमा सञ्चालन गरिएका खोलानदीहरूमा बाँध बाँध्ने, पिउन र सिँचाइ गर्नको निम्ति नहर, कालो पाइप आदिको माध्यमबाट पानीको व्यवस्था हुनु, गाउँमा किसानले सङ्कलन गरेको दूध, कफी, मह, तरकारी, कच्चा पदार्थ आदिलाई पनि काठमाडौंलगायतका सहरहरूमा पुर्याई स्थानीय कृषक वर्गको जीवनस्तर सुधार्न आवश्यक पहल गरिनु पक्कै पनि कृषि क्षेत्रका सुधार, संरक्षण, सम्बद्ध विकास र बजारीकरणको निम्ति देखिएका सकारात्मक सङ्केतहरू हुन् । पछिल्लो समयमा स्थानीयस्तरमा नै विभिन्न महोत्सव र कृषि प्रदर्शनीहरू समयसमयमा भइरहनु तथा उत्कृष्टलाई राष्ट्रियस्तरको प्रदर्शनीहरूमा नि:शुल्क स्टल बुकिङ तथा गाडीभाडाहरूको व्यवस्था गरी उचित पुरस्कृत गर्ने निर्णय पनि आफैंमा सकारात्मक कुरा हो ।
नेपालजस्तो प्राकृतिक र मानवीय दुवै हिसाबले सम्पन्न देशमा नै यहाँका लाखौं बेरोजगार जनतालाई उनीहरूको योग्यताअनुसारका कार्यमा हौसला हुने किसिमका उपयुक्त प्रशिक्षण प्रदान गरी विदेश पलायन हुने ठूलो सङ्ख्याका उत्साही युवा वर्गलाई यस देशमा नै कृषि, वन, पर्यटन, निर्माण, प्राविधिकलगायतका क्षेत्रमा लगाउने र त्यसमा आइपरेका समस्याको सामना गरेर अगाडि बढी भावी दिनमा नेपालमा नै सम्पूर्ण जनतालाई र स्थानीयस्तरमै आत्मनिर्भर र स्वावलम्बन बनाई नेपालमा बढ्दै गएको व्यापार घाटा यथाशक्य कम गराएर छिट्टै नै अन्तर्राष्ट्रियस्तरमा नै हाम्रो नेपालको कृषिजन्य वस्तु तथा सेवाहरूको बजारीकरण गर्नु नै आजको आवश्यकता हो । अहिले जहाँ जुन प्रविधिको विकास र विस्तार भए पनि अन्तत: उक्त प्रविधिको परिचालन गर्न पनि मानवीय शक्ति नै आवश्यक पर्न जान्छ, जब मानिस र प्रविधिबीचको तालमेल मिल्न जान्छ तब मात्र विकास र विस्तारले उग्ररूप लिन सक्छ । अर्को कुरा, जबजब धेरै मानिसलाई यस क्षेत्रमा आकर्षित गर्न सकिन्छ, तबतब उक्त सङ्गठित मानवीय जमातबाटै नयाँनयाँ प्रविधिको विकास हुन सम्भव छ, एकजना व्यक्तिले मात्र कुनै कुरा पत्ता लगाउने र कार्यान्वयन गर्न गाह्रो पर्दछ । समूहमा कार्य गर्दा मात्र जस्तोसुकै अकल्पनीय कार्य पनि सम्भव हुन्छ भने किन यस कृषि पेसामा पनि हामी सामूहिक प्रयासमा नलाग्ने ?
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालदेखि दक्षिण तराईसम्म एकै किसिमको भूबनोट, हावापानी, तापक्रम आदिको अन्तर रहेको यस देशमा एक ठाउँमा राम्रोसँग सप्रने बाली अर्को ठाउँमा सप्रन सक्दैन । कुन ठाउँमा कस्तो बाली फस्टाउन सक्छ भन्ने कुरा सर्वप्रथम बालीविज्ञहरूले परीक्षण गरी लागू गराउने हो भने र ठाउँठाउँमा सरकारी पहलबाटै विशेषज्ञहरू नियुक्त गरी माटोको चेकजाँच, रोगव्याधि तथा समग्र बालीको अवस्थाबारे निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने हो भने यसले नेपालको अहिलेको यस अवस्थामा देखिएका समस्यालाई कम गराउन ठूलो सहयोग गर्नेछ र यसले कृषिमा व्यवसायीकरण, विविधीरकण र सशक्तीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुनेछ ।
कृषिक्षेत्रको विकासका लागि सरकारीस्तरबाटै गरिब जनताको लगानी सुरक्षित हुने किसिमले बिमा योजनाहरू जस्तै पशुधन बिमा, अग्नि बिमा, दुर्घटना बिमालगायतमा पहल गरी कम जोखिममै धेरै फाइदा लिन सक्ने अवस्थाको यहाँ सिर्जना हुन आवश्यक छ । सर्वप्रथमा अहिलेको जस्तो लगानीमैत्री वातावरण बन्न नसकेको अवस्थाप्रति सरकारद्वारा नै विशेष कदमहरू चालिएको खण्डमा नेपालको कृषिक्षेत्रमा पनि लगानी गर्न स्वदेशी तथा विदेशी कम्पनी र समूहहरू प्रोत्साहित हुनेछन् र नेपालको कृषिक्षेत्रले कायापलट रूपमा फड्को मार्नेछ ।
एकातिर अहिले पनि दिनप्रतिदिन दैनिक उपभोग्य सामग्रीदेखि हरेकले महङ्गी र मूल्यवृद्धिमा हाँगा फैलाइरहेको छ र निरन्तर नेप्से घट्दो दिशामा उन्मुख भएको अवस्थामा पनि नेपालमा लगानीमैत्री वातावरण र युवा परिचालन तथा जनचेतनामुखी कार्यक्रम गर्ने तथा यस सम्बन्धमा अझ बढी विद्यालयस्तरकै विद्यार्थीको कोर्समा नै कसरी कृषिक्षेत्रमा सुधार्न सकिन्छ भन्नेबारे जानकारी राख्ने र प्रविधि ज्ञानलाई बढी जोड दिएको खण्डमा कृषिलाई पनि एक महत्वपूर्ण पाटोको रूपमा अघि बढाउन सकिन्छ । त्यस्तै विकास गर्न जग्गा टुक्र्याएर होइन सेयरको आधारमा नै कृषिकार्य गर्दा पो बढी फाइदा लिन सकिन्छ कि ?
प्रतिक्रिया