चार दिनभित्र सबै प्रदेशले नयाँ सरकार पाउने

चार दिनभित्र सबै प्रदेशले नयाँ सरकार पाउने


अबको चारदिनभित्रै सातै प्रदेशले नयाँ सरकार पाउने भएका छन् । संविधानले प्रदेशसभाको अन्तिम परिणाम आएको बढीमा ३० दिनभित्र सरकार बनाइसक्नुपर्ने किटानी व्यवस्था गरेअनुरुप अबको चार दिनमा सबै प्रदेशले सरकार पाउने छन् ।

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेकै दिन निर्वाचन आयोगले पनि माघ ३ गते प्रदेशसभाका समानुपातिक सांसदको परिणाम घोषणा गरेको थियो । प्रदेश सभाको परिणाम आएको ३० दिन फागुन ३ गते पुग्दैछ ।

प्रदेश सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन मिल्ने संवैधानिक व्यवस्था छ । यसहिसाबले प्रदेशमा बन्ने सरकारमा जम्माजम्मी मन्त्रीको संख्या १ सय १० जना हुनेछ । हालसम्म प्रदेश नम्बर ३ मा मुख्यमन्त्री नियुक्त भइसकेका छन् भने ५ सहित अन्य प्रदेशमा मुख्यमन्त्री नियुक्तीको तयारी भइरहेको छ ।

चार प्रदेशमा एमालेले सरकार बनाउँदै छ भने दुईवटा प्रदेशमा माओवादीले सरकार बनाउँदै छ । त्यस्तै, एक प्रदेशमा मधेशवादी दलले सरकार बनाउँदैछ । सातै प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्नेबारे विवाद अन्त्य भएसँगै निर्धारित समयमै सरकार बन्ने देखिन्छ ।

यसरी दलहरु निर्धारित समयमै सरकार गठन गर्न केन्द्रित भएका छन् । मन्त्रीको नाम छनोटका निम्ति सबै प्रदेशमा दलहरुले आन्तरिक गृहकार्य गरिरहेको बुझिएको छ ।