को-को परे नेपाली कांग्रेसको समानुपातिक सूचीमा ?

को-को परे नेपाली कांग्रेसको समानुपातिक सूचीमा ?


प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नेपाली कांग्रेसले नामावली टुंगो लगाई आज निर्वाचन आयोगमा बुझाएको छ । समानुपातिक तर्फका नाम टुंगो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

कांग्रेसको समानुपातिक सूचीमा खस/आर्य (पुरुष)तर्फ बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन भएका छन् भने खस/आर्य (महिला)तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा रहेका छन् ।

यस्तै, आदिवासी/जनजाति (पुरुष)तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी छानिएका छन् । आदिवासी/जनजाति (महिला)तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा परेका छन् ।

मधेशी (पुरुष)मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला)तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन भएका छन् भने दलित (पुरुष)तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइलीलाई कांग्रेसले छानेको छ । दलित (महिला)तर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली परेका छन् । थारू (पुरुष)तर्फ पद्मनारायण चौधरी तथा थारु (महिला)तर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरीको नाम समावेस छ । यस्तै, मुस्लिम (पुरुष)मा अतहर कमाल मुसलमान र मुस्लिम (महिला)तर्फ सर्वतआरा खानम चयन भएकी छिन् ।

ज्ञात रहोस्, गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कूल २३ स्थानमा विजयी कांग्रेसबाट कुनै पनि महिला निर्वाचित हुन सकेका थिएनन् । त्यस्तै माघ २४ गते सम्पन्न संघीय सदनको माथिल्लो सदन राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल विजयी १३ स्थानमध्ये ६ महिला विजयी भएका थिए ।

कानूनी प्रावधानअनुसार दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चत गराउनुपर्ने प्रावधान छ । त्यसैले कांग्रेसले प्राप्त गरेको प्रतिनिधिसभाको समानुपातिक स्थानमध्ये २० महिलालाई पठाउने निर्णय गरेको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।