एमाले र माओवादी केन्द्रबीच जारी पार्टी एकताको प्रक्रियालाई अन्तिम रुप दिन आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य रहेको सो समितिले आजको बैठकलाई निश्कर्षमा पुर्याउन विशेष प्रयत्न गर्ने र सोही किसिमको तयारी पनि गरिएको सम्बद्ध सुत्रले जनाएको छ ।
केपी शर्मा ओली र प्रचण्डबीच हिजो एक्लाएक्लै भएको छलफलका क्रममा आज संयोजन समितिको बैठकबाट सार्थक निर्णय लिने सहमति भएको थियो । पार्टी एकतालाई निष्कर्षमा पु¥याउने र सरकार गठनअघि नै एकीकृत पार्टीको खाका तयार पार्ने लक्ष्यका साथ दुई पार्टीका अध्यक्षद्वयले निरन्तर संवाद गर्दै आएका छन्।
गत सोमबार ओली र प्रचण्डबीच पार्टी एकतालाई अगाडि बढाउने सन्दर्भमा दुवै अध्यक्ष नै पार्टीमा रहने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको विषय यतिबेला निकै चर्चामा छ । यस्तै, मंगलबारको बैठकमा त्यसको खाका, सांगठनिक तथा राजनीतिक वैचारिक विषयमा समेत मतैक्यता कायम गरिएको बताइएको छ ।
गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंका व्यक्त गरिँदै आएका छन् । आधिकारिक घोषणा नहुँदासम्म यी दुई दलको एकताको प्रयत्नमाथि शंका कायमै रहने देखिन्छ ।
प्रतिक्रिया