राष्ट्रिय सभा सदस्य मनोनयन गर्ने देउवाको इच्छा अलपत्र !

राष्ट्रिय सभा सदस्य मनोनयन गर्ने देउवाको इच्छा अलपत्र !


शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभाको तीन सदस्य मनोनयनका लागि गरेको सिफारिस कार्यान्वयन नहुने भएको छ । ५९ जना सदस्य रहने राष्ट्रिय सभामा ५६ जना निर्वाचन प्रक्रियाद्वारा छानिएका छन् भने तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त हुने वैधानिक व्यवस्था छ । सो वैधानिक प्रावधानअनुरूप सरकारले कृष्ण पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिमण्डलको बैठकमा उल्लिखित तीन नाम छलफलमा आएपछि यससम्बन्धी अन्तिम निर्णय लिने अधिकार क्याबिनेटले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो । कृष्ण पौडेल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव हुन् र पौडेललाई राष्ट्रिय सभामा पु¥याउन आरजु राणाको विशेष जोडबल रहेको बताइन्छ । चाँदनी जोशी लामो समय संयुक्त राष्ट्र सङ्घीय सेवामा रहेर अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ र उहाँको नाम मन्त्री सुनीलबहादुर थापाले प्रस्ताव गर्नुभएको थियो । कुनै पार्टीगत आबद्धता नरहेकी चाँदनी जोशीलाई थापाले आफूसमेत यूएन सेवामा रहँदा चिनेजानेको र जोशीको कार्यक्षमताका आधारमा नाम प्रस्ताव गरेको बुझिन्छ । गोपाल बस्नेत भने झापाका पुराना काङ्ग्रेस नेता हुनुहुन्छ । बस्नेतलाई विश्वप्रकाश शर्माको सिफारिसमा देउवाले नै नाम प्रस्ताव गरेको समाचार सूत्रहरूले जनाएका छन् ।

यसरी शेरबहादुर देउवाले तीनजनालाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्न लागेका भए पनि उहाँहरूको नियुक्तिले कार्यरूप लिने सम्भावना कम भएको छ । उल्लिखित नामहरू सिफारिस गरी पठाइए पनि राष्ट्रपतिद्वारा उहाँहरूको नियुक्ति घोषणा हुन हतार नगरिने निश्चित मानिएको छ । राष्ट्रपतिबाट सांसदहरूको नाम घोषणा नहुँदै यता नयाँ सरकार अस्तित्वमा आउने र नयाँ सरकारले पहिले प्रस्ताव गरिएका नाम फिर्ता लिई नयाँ नाम सिफारिस गर्ने सम्भावना छ । राष्ट्रिय सभामा वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायतका नेताहरूलाई मनोनयन गर्ने सोचमा वाम गठबन्धनका नेताहरू रहेका छन् ।