प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि नराम्रोसँग छटपटिनुभएका एमाले नेता वामदेव गौतम राज्य सञ्चालनमा आफ्नो भूमिका स्थापित गर्न प्रयत्नशील रहनुभएको छ । उहाँले वाम गठबन्धनका नेताहरूसमक्ष विकासकेन्द्रित एक विशेष संयन्त्र निर्माण गर्ने प्रस्ताव राख्दै आउनुभएको छ । विकास प्राधिकरण या त्यस्तै कुनै नाममा संयन्त्र गठन गरी त्यसको प्रमुख आफैँ बन्ने चाहना वामदेवले प्रकट गर्नुभएको छ ।
केही समयअघि देश कसरी बनाउन सकिन्छ भन्ने विषयमा एक पुस्तक लेखेर भव्य समारोहबीच विमोचनसमेत गराउनुभएका गौतममा पछिल्लो समय औधी विकासप्रेम झल्किएको महसुस उहाँका निकटवर्तीहरूले गरेका छन् । एमालेमा अहिले देश विकासको सबैभन्दा धेरै कुरा गर्ने नेता भनेर वामदेवलाई लिन थालिएको छ ।
यसैक्रममा उहाँले त्यस्तो एउटा निकायको परिकल्पना गर्नुभएको छ जसले विकासको विभिन्न मोडल तयार गर्ने, विकास आयोजनाहरूको निर्माण र सुपरीवेक्षण गर्ने तथा विकासका कार्यक्रमहरू अनुगमन गर्दा मापदण्डअनुरूप गुणस्तरीय भएको नपाइएमा आवश्यक कारबाहीको सिफारिस गर्नेसम्मको अधिकार राख्नेछ ।
गौतमले आफ्नो अवधारणा प्रचण्ड र केपी ओलीलगायतका नेताहरूसमक्ष प्रस्तुत गर्नुहुँदा सबैले ‘अति राम्रो’ भनी प्रशंसा गरेका छन् । तर, त्यस्तो निकाय गठन गर्ने पक्षमा कोही पनि रहेका छैनन् । वामदेवको अवधारणाअनुरूप कुनै निकाय खडा गर्ने हो भने मन्त्रिमण्डल र राष्ट्रिय योजना आयोगको काम के हुने हो, त्यसको जवाफ भने वामदेव स्वयम्सँग पनि नरहेको बताइन्छ ।
प्रतिक्रिया