फुट्नका लागि जुट्दै वामपन्थीहरू

फुट्नका लागि जुट्दै वामपन्थीहरू


विभिन्न आशङ्का र उतारचढावबीच अन्ततः एकपटक फेरि नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरण गर्ने सम्झौता भएको छ । केपी ओली र प्रचण्डबीच अनेकौँ चरणमा भएका एकल बैठकपश्चात् यसै साताको सोमबार (माघ २९) एकीकरणलाई अन्तिम रूप दिने निर्णय भएको हो । उहाँहरूबीच बनेको सहमतिअनुसार दुवैजनाले पार्टीको सहअध्यक्षको जिम्मेवारी सम्हाल्ने र पाँचवर्षे कार्यकालको पहिलो चरणमा केपी ओलीले प्रधानमन्त्रीको समेत जिम्मेवारी लिनेछन् । ओली प्रधानमन्त्री रहँदासम्म पार्टीका हर्ताकर्ता सहअध्यक्षका रूपमा प्रचण्ड बन्ने र दोस्रो चरणमा (आधी कार्यकाल) प्रचण्डले प्रधानमन्त्री पद सम्हालेपछि पार्टीको मुख्य कार्यकारी भूमिकामा ओली रहने भएका छन् ।

यसरी केपी र प्रचण्डको हैसियत र जिम्मेवारीबारे सहमति बनेपछि उहाँहरूबीच पार्टीका अन्य नेताहरूको व्यवस्थापनका विषयमा पनि लामो छलफल चलेको बताइन्छ । छलफलका क्रममा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र वामदेव गौतमको हैसियत र जिम्मेवारीबारे गम्भीर ढङ्गले बहस भएको थियो । चारैजना नेतालाई ‘वरिष्ठ नेता’को हैसियतमा राख्ने या उहाँहरूलाई उपाध्यक्षको दर्जा दिइने भन्ने लामो छलफलपश्चात् सम्बन्धित नेताहरूसमेतको परामर्शमा यससम्बन्धी टुङ्गो लगाउन ओली र प्रचण्ड सहमत भएका थिए ।

त्यसैगरी स्थायी समितिको आकार कत्रो बनाउने भन्ने विषयमा पनि नेताहरूबीच छलफल चलेको थियो । सानो स्थायी समिति बनाउने पक्षमा माओवादी नेताहरू भएको र माधव नेपालको समेत त्यसमा सहमति रहेको बताइन्छ । त्यसरी सानो स्थायी समिति बनाइँदा केपी ओली समर्थित कैयन नेता छुट्ने र स्थायी समितिमै ओली अल्पमतमा पर्ने भएपछि बढीमा नौजनाको स्थायी समिति बनाउने सोच कार्यान्वयन हुन सकेन । अन्ततः पन्ध्रदेखि पच्चीसजनासम्मको स्थायी समिति बनाउनुपर्ने निचोडमा नेताहरू पुगे । पार्टीको नाम २००६ सालमा स्थापना हुँदाकै जस्तो ‘नेपाल कम्युनिष्ट पार्टी’ राखिने र एमाले तथा माओवादीजस्ता विशेषणहरू हटाइने भएको छ ।

जतिबेला दुई पार्टीबीच एकता, सहकार्य र चुनावी तालमेलका विषयमा छलफल हुँदै थियो त्यसबेला केपी ओलीले प्रचण्डसँग भइरहेको छलफलबारे आफ्नो पार्टीका कुनै पनि नेतालाई सुइँकोसम्म नदिएको, खासगरी माधव नेपाल र झलनाथ खनालसँग ओलीले कुनै पनि कुराहरू शेयर गर्नुभएको थिएन ।

नेताहरूबीच बनेको सहमतिलाई पार्टी एकता संयोजन समितिले आवश्यक छलफलसहित अनुमोदन गरेपछि सत्ता गठबन्धन र पार्टी एकीकरणले अन्तिम रूप लिने भएको छ । यसरी पार्टी एकीकरणको प्रारूप तयार भई एकताको घोषणा भए पनि सरकार गठनपछि मात्र एकीकरणलाई कार्यरूप दिइने भएको छ । अहिले एकीकरणको रूप तयार गरी प्रतिबद्धता सार्वजनिक गर्ने र सरकार गठनपश्चात् पार्टी एकीकरणको निर्णयलाई कार्यान्वयन गर्दै जाने सहमति केपी र प्रचण्डबीचको एकल बैठकमा भएको थियो ।

प्रचण्डलाई पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीभन्दा बढी हतारो माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतले दर्शाउँदै आउनुभएको छ । उहाँहरू प्रचण्डलाई पार्टीको एक मात्र कार्यकारी प्रमुख बनाएर जाने मानसिकतामा भएको बुझिन्थ्यो र, यस कुराको जानकारी केपी ओलीलाई पनि थियो । आफ्नै पार्टीका नेताहरू प्रचण्डलाई अध्यक्ष पद सुम्पन हतारिएको देखेपछि केपी ओली सचेत भएको र प्रचण्डलाई एकलौटि पार्टी प्रमुख बनाउन नहुने निष्कर्षमा पुगेको बुझिएको छ ।

पार्टी एकीकरणपछि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, रामबहादुर थापा बादल, वामदेव गौतम, कृष्णबहादुर महरा, वर्षमान पुन र भीम रावललगायतका नेताहरू ओलीको प्रतिकूल एकजुट हुने सम्भावना देखिन्छ भने ओलीतिर ईश्वर पोखरेल, विष्णु पौडेल, जनार्दन शर्मालगायतका केही नेता मात्र रहने सम्भावना छ । नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डेलगायतका नेताहरू कुनै पनि गुटविशेषमा सक्रीय नहुने बुझिएको छ । ओलीविरोधी गुट सशक्त र सङ्गठित रहने जुन सम्भावना देखिएको छ, यसले एकीकरणपछि एमालेको स्थिति तनावपूर्ण रहने सङ्केत दिएको छ । नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डेहरूको मात्र सक्रियताले उक्त दलको नेतृत्वमा उत्पन्न हुने तनाव शिथिल हुने विश्वास गर्न सकिँदैन ।

जतिबेला दुई पार्टीबीच एकता, सहकार्य र चुनावी तालमेलका विषयमा छलफल हुँदै थियो त्यसबेला केपी ओलीले प्रचण्डसँग भइरहेको छलफलबारे आफ्नो पार्टीका कुनै पनि नेतालाई सुइँकोसम्म नदिएको, खासगरी माधव नेपाल र झलनाथ खनालसँग ओलीले कुनै पनि कुराहरू शेयर गर्नुभएको थिएन । तर, प्रचण्डले भने केपीसँग गुप्त तवरमा भएका सबै कुराहरू तत्कालै माधव नेपाललाई ‘रिपोर्टिङ’ गर्ने गर्नुहुन्थ्यो । यस घटनाले पनि माधव र प्रचण्डबीचको सम्बन्ध तथा प्रचण्डको चरित्रबारे स्पष्ट गर्दछ । पार्टी एकीकरण नहुँदै प्रचण्डले चलखेल शुरु गरिसकेको हुँदा अहिले संयुक्त सरकार गठन भए पनि त्यसपछि सजिलै पार्टी एकीकरण नहुने र कदाचित एकीकरण भए पनि उक्त पार्टी एकताबद्ध रहिरहनेमा आशङ्का पैदा भएको छ ।