ओली ४१ औं प्रधानमन्त्री बन्दै, देउवाको बर्हिगमन आज

ओली ४१ औं प्रधानमन्त्री बन्दै, देउवाको बर्हिगमन आज


एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१ औँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । वाम गठबन्धनमा भएको सहमति अनुरुप तीन वर्षका लागि ओली प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

यसैबीच,वाम गठबन्धनका शीर्ष नेताले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ओलीलाई प्रधानमन्त्री बनाउन आग्रहसहितको पत्र बुझाएका छन् ।

एमाले अध्यक्ष ओली, नेताहरु सुवासचन्द्र नेम्बाङ र अग्नी खरेल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनलाई बहुमत मिलेको विवरण बुझाउँदै नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका हुन् ।

संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा दुई वा त्यो भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था अनुसार एमाले अध्यक्ष ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न उनीहरुले अनुरोध गरे ।

राष्ट्रपति भण्डारीले संविधानको ७६ (२) को व्यवस्था अनुसार बिहीबार नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

ओली बिहीबार नै प्रधामन्त्रीमा नियुक्त हुने भएका छन् । उनको शपथ दिउँसो ४ बजे गर्ने गरी राष्ट्रपति कार्यालयमा तयारी भइरहेको छ । त्यसपछि नयाँ सरकार गठन हुनेछ ।

यता,प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार राष्ट्रका नाममा सम्वोधन मार्फत राजीनामा गर्ने भएका छन् ।प्रधानमन्त्री निवासबाट सम्वोधन गरी देउवाले सरकार छाड्न लागेका हुन् । देउवा नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । देउवा गत जेठमा प्रधामनन्त्री निर्वाचित भएका थिए ।