नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा इतिहास रचिसकेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको काँधमा दोस्रोपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी आएको छ । ४१औँ प्रधानमन्त्रीको रूपमा केपी ओलीले सपथ लिएका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको सपथ दिलाइएको हो ।
यसअघि २०७२ मा ओली पहिलोपटक प्रधानमन्त्री भएका थिए । वाकपटुतायुक्त नेताका रूपमा विशेष पहिचान बनाएका ओली विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका छन् ।
हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा रहेका ओली २००८ साल फागुन ११ गते शनिबारका दिन इवा–२ तेह्रथुममा जन्मिएका हुन् । ओली परिवार पछि रणामती–६, झापामा बसाइँ सरेको थियो । पिता मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओलीले डेढ वर्ष उमेरमै आमाको काख गुमाएका थिए । गरिव परिवार र आमाको वात्सल्यसमेत गुम्न पुगेकाले बाल्यकाल यिनको अत्यन्त दुःखपूर्ण रूपले बित्यो ।
लामो समय जेलनेल भोगेका नेता ओलीको राजनीतिक यात्रा झापाबाटै शुरु भएको हो । चर्चित झापा विद्रोहका एक मुख्य पात्र केपी ओली उक्त विद्रोहकालीन एक मात्र जीवित नेता हुन् । लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका नेता भनी ओली सह्राइएका छन् ।
२०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका थिए । त्यस्तै उनले वि.सं. २०५१ देखि २०५२ सम्म उनी गृहमन्त्री थिए । ०६४ देखि ०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए भने नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा पहिलोपटक केपी ओली प्रधानमन्त्री बनेका थिए ।
तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक खड्गप्रसाद ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् । २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए । सोही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका पात्र हुन् ।
बुर्जुवा शिक्षाको विरोध भन्दै शैक्षिक प्रमाणपत्र च्यात्ने समूहका सदस्य ओलीको शैक्षिक डिग्री कमजोर छ । झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमै पूरा गरेका थिए भने झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा उनले प्रवेशिका परीक्षा (एसएलसी) पास गरेका हुन् । राम्रो अङ्ग्रेजी बोल्ने ओलीले जेलमै ‘डिक्सनरी’ रटेका थिए भनिन्छ । उनी भाषण गर्दा उखानटुक्कालाई प्रयोग गरेर हाँस्यरस मिसाउन खप्पिस छन् ।
विसं २०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपालसँगको प्रतिस्पर्धा जितेर पार्टीको अध्यक्ष भएका उनी २०७० माघ २१ मा भएको पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी दलको नेता भएका थिए ।
मुलुक सङ्घीयतामा गएपछिको पहिलो प्रधानमन्त्रीको रूपमा सपथ लिएका केपी शर्मा ओलीका अगाडि भारत र चीनजस्ता नजिकका छिमेकीसँगको सम्बनधलाई सन्तुलित तुल्याउँदै नेपाली जनताको विकिार समृद्धिको चाहना पूरा गर्दै अघि बढ्नुपर्ने चुनौती रहेको छ ।
प्रतिक्रिया